सहकारी ठगी प्रकरण : संसदीय समितिले लियो पूर्वराजाका ज्वाइँसँग बयान
काठमाडौं । सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहसँग बयान लिएको छ । ललितपुर पुल्चोकको सुमेरु बचत तथा ऋण सहकारी संस्थाको स्वामित्व लिन लागेको बारेमा समितिले आज सिंहलाई सिंहदरबार बोलाएर बयान लिएको हो ।
बयानमा सिंहले आफ्नो निजी सम्पत्तिबाट बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्न लागेको बताएको जनाइएको छ ।
सिंह सोही सहकारी संस्थाका शेयर सदस्य हुन् । ललितपुरका भरत महर्जन तथा उनको परिवारले डुबाएको सुमेरु बचत तथा सहकारी संस्था उकास्न सिंह केही समयदेखि अग्रसरता लिँदै कानूनी परामर्शमा थिए । भरतको पुल्चोकस्थित सुमेरु सहकारी र उनका छोरा सचिन महर्जनले सञ्चालन गरेको कालिमाटीस्थित सुमेरु सहकारीका बचतकर्ताको निक्षेप फिर्ताको प्रस्तावसहित उनी सक्रिय छन् । उक्त सहकारी प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको छ ।
प्रमुख सञ्चालक भरत महर्जनविरूद्ध पक्राउ पूर्जी साथै नेपाल प्रहरीले इन्टरपोलमार्फत खोजीका लागि ‘रेड नोटिस’ जारी गरेको छ ।कालिमाटीको सहकारीबाट १५ करोड रुपैयाँ अपचलन भएको जाहेरी ब्युरोमा परेको छ। त्यहाँका दुई जना सञ्चालक सदस्य पक्राउ परेका छन् । बाबु-छोरा र नातेहरू संलग्न दुबै सहकारी डुबेपछि महर्जन परिवारै बेलायत पलायन भएका छन् । पुल्चोकको सुमेरु सहकारी बागमती प्रदेश सहकारी रजिष्टारको कार्यालयमा दर्ता छ भने कालिमाटीको सुमेरु काठमाडौं महानगरपालिकामा दर्ता छ ।
महर्जनले २०५७ सालबाट ललितपुरको पुल्चोकमा कार्यालय राखेर सुमेरु सहकारी सुरू गरेका थिए । महर्जनले २०६८ मा धापाखेलमा ३०० शय्याको सुमेरु सामुदायिक अस्पताल स्थापना गरेका थिए । उनले २०६९ सालमा पुल्चोकमै १०० शय्याको सुमेरु सिटी अस्पताल खोलेका थिए । उनले सुमेरु मेडिकल कलेज, एसियन कलेज अफ एडभान्स्ड स्टडिज, शंकरापुर एकेडेमी, रिसोर्ट, कृषि फार्मलगायत काठमाडौं उपत्यकाका साथै बाहिरका जिल्लामा जग्गा खरिद गरेका थिए । कालिमाटीको सुमेरु सहकारीका ५८ जनामध्ये २६ जनाले बचत फिर्ता भए मिलापत्र गरिदिन भनी ब्युरोमा उजुरी दिएको प्रहरीले बताएको छ ।
