परराष्ट्रमन्त्री डा. राणा र कतारका विदेशमन्त्री फोनवार्ताः विपिनको रिहाइको पहलका लागि अपिल
काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ ।
हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेकी छन् । यसै अन्तर्गत मन्त्री डा. राणाले आज बिहान कतारका विदेश राज्यमन्त्री डा.मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गर्नुभएको छ । मन्त्री डा. खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं पध्यस्थकर्ता छन् ।
मन्त्री डा. राणाले कतारका मन्त्री डा. खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी छन् । कुराकानीका क्रममा कतारका मन्त्री डा.खुलाइफीले हमासहरुलाई इजरायलसँग युद्धविराममा ल्याउने विषय सकारात्मक रुपमा अघि बढिरहेको जानकारी गराउँदै हमासहरुको अपहरणमा रहेकाहरुको मुक्तिका लागि कतार सरकारले पहल गरिरहेको बताए ।
कतारका मन्त्री डा.खुलाइफीले नेपाली युवा विपिनको रिहाइलाई अपिल गर्ने कुरा पनि आफूहरुले प्राथमिकतामा राखेको बताउँदै पहिलो चरणमा उनीहरुले केही बन्दी रिहा गर्ने सूचना दिएकाले सकेसम्म पहिलो चरणमै र त्यो सम्भव नभएमा बाँकीको रिहाइका क्रममा विपिन अपहरण मुक्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
