माओवादीले बोलायो पदाधिकारी बैठक
काठमाडौं । नेकपा माओवादी केन्द्रले बुधबार बस्ने गरी पदाधिकारी बैठक बोलाएको छ । बुधबार बिहान ८ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा नेताहरूको क्षेत्रगत, भूगोल र विभिन्न विभागहरूमा कार्य विभाजन गर्ने एजेन्डा छ । यसअगाडि पुस २१ गतेदेखि ३ दिनसम्म माओवादीले केन्द्रीय कमिटी बैठक राखेको थियो । उक्त बैठकमा पूर्व उपराष्ट्रपति नन्द्रबहादुर पुन ‘पासाङ’ पनि उपस्थित थिए ।
उनलाई माओवादीले पुनःपार्टी राजनीतिमा फर्काउने कोसिस गरेको छ । उनलाई उपाध्यक्ष दिएर सक्रिय गराउने गरी छलफल चलिरहेको छ । तर केही नेताहरूले देशको सम्मानित पदमा पुगेको व्यक्ति राजनीतिमा आउन नहुने भनेर विरोध पनि गरिरहेका छन् ।
कतिपय नेताहरूले केन्द्रीय कमिटी बैठकमा उनलाई राजनीतिमा ल्याएमा सम्मानित पदको मर्यादा खस्किने भन्दै अभिभावक बन्न सुझाव दिएका थिए । तर अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड माओवादी लडाकुका पूर्वकमान्डर पुनलाई राजनीतिमा ल्याउने योजनामै देखिन्छन । यस पटक कार्य विभाजन गर्दा प्रचण्डले पुनलाई जिम्मेवारीमा ल्याउन सक्ने बताइएको छ ।
