संसद अधिवेशन आह्वान नगरिएकोप्रति अग्निप्रसाद सापकोटाकाे आपत्ति
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन् । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संसद अधिवेशन नबोलाइएकोप्रति रोष प्रकट गरेका हुन् ।
उनले आफू सभामुख हुँदा र अरु बेलामा पनि मंसिर २८ सम्म अधिवेशन आह्वान गरिएको भएपनि अहिले यति ढिलो किन गरेको भन्दै प्रश्न गरे । उनले संसद अधिवेशन किन नबोलाइएको भन्ने जानकारी आम नागरिकले बुझ्न चाहेको बताएका छन् ।
उनले संसद कुनैपनि देशको महत्वपूर्ण संस्था हुने र यसले सुशासनदेखि धेरै कुराको सन्देश प्रवाह गर्ने जिकिर गरे । उनले संसदबाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको जन्म हुने भएकाले संसदलाई बन्द गर्न नहुने बताए ।
