रास्वपा सभापति रविविरुद्ध बुटवलमा पनि मुद्दा दायर हुँदै, प्रतिवादी कायम गर्नुपर्ने रायसहित प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दा चलाउनु पर्ने रायसहितको प्रतिवेदन बुटवल प्रहरीले बुझाएको छ । इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो ।
रुपन्देहीका एसपी रन्जितसिंह राठौरले प्रतिवेदन बुझाएको पुष्टि गर्दै बाँकी काम सुरु हुने बताए । लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार छुटेका थिए । उनीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । उनी धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए । प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर आइतबार सोमबारतिर सरकारी वकिल कार्यालय रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।
सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको पहिलो चरणको अनुसन्धानबाटै खुलेको थियो । जसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको उल्लेख थियो । यता, पोखरामा धरौटी बुझाएर छुटेका रवि आज काठमाडौं जिल्ला अदालतमा हाजिर हुँदैछन् ।
