बागमती खेलकुद परिषद्का १० सदस्यले लिए सपथ
काठमाडौं । बागमती प्रदेश खेलकुद विकास परिषद् मनोनित १० जना सदस्यहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।
रवि महर्जन, संगीत श्रेष्ठ, नविना खनिया, कल्पना खड्काले सपथ लिएका हुन् । त्यस्तै सविन भट्टाचार्य, राजन धिताल, दीपा क्षेत्री, अमृत लुङवा, अञ्जना शिवाकोटी र गोविन्दलाल श्रेष्ठले सपथ लिएका हुन् ।
महर्जन , श्रेष्ठ, खनिया र खड्कालाई मंसिर १० गतेको मन्त्रिपरिषद बैठकले मनोनयन गरेको थियो । बाँकीलाई बुधबार मनोनयन गरिएको थियो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रमा लामो समयदेखि योगदान गरेका व्यक्तिलाई परिषद्को सदस्यमा मनोनित गरिएकाले प्रदेशको समग्र खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले परिषद्का सदस्यहरुलाई आफ्नो विज्ञता प्रयोग गरी खेलकुद क्षेत्रको प्रवद्र्धन र खेलाडीहरुको हितका लागि काम गर्न सुझाव दिइन् । कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामाका राजनीतिक सल्लाहकार विनोद शाह, सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैह्रे, प्रदेश खेलकुद विकास परिषद्का प्रमुख बद्रीबहादुर पाठक, खेलकुद मन्त्रालयका कार्यक्रम महाशाखा प्रमुख सूर्य दाहाललगाययको उपस्थिति रहेको थियो ।
