भारतीय विदेश सचिव मिश्री र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्री र उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता भएको छ ।
सोमबार बिहान शहरी विकास मन्त्रालयमा भएको भेटमा मिश्रीले उपप्रधानमन्त्री सिंहलाई बधाइ र कार्यकाल सफलताको शुभकामना दिएका छन् । भेटमा शहरी विकास, फोहोरमैला व्यवस्थापन, बागमती, विष्णुमती लगायतका नदीको स्वच्छताका विषयमा नेपाल-भारतबीच हुनसक्ने सहकार्यका विषयमा छलफल भएको छ ।
उपप्रधानमन्त्री सिंहले स्वच्छ भारत अभियान र गंगा नदी सफाइको अनुभव र प्रविधि नेपालका लागि उपयोगी हुनसक्ने भन्दै सहकार्यका लागि आग्रह गरे । यस्तै, मन्त्री सिंहले नेपाली नागरिकले आवतजावतमा समस्या भोगिरहेको भन्दै महाकाली नदीमा झोलुंगे पुल निर्माणमा भारतको सहजीकरण आवश्यक रहेको बताए ।
विदेश सचिव मिश्रीले नेपालको शान्ति, स्थायित्व र समृद्धिका लागि भारतको सधैँ साथ सहयोग रहने बताए । मिश्री आज दुई दिने भ्रभण सकेर स्वदेश फर्कदै हुनुहुन्छ ।
