राजनीतिक दलका शीर्ष नेताहरु संघीयताप्रति उदार बन्न सकेनन् : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरु संघीयताप्रति उदार बन्न नसकेको बताएका छन् ।
मंगलबार ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरु विषयक अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरु सघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको बताएका हुन् । उनले संघीयताप्रति अनुदार भएर विकासका कामहरु हुन नसक्ने बताए ।
महामन्त्री थापाले संघीयतासम्बन्धी बन्न नसकेका कानून बनेनन् भने सरकारबाट बाहिरिन्छु भन्नेकुरा नयाँ र क्षेत्रीय दलहरुले समेत भन्न नसकेको बताएका छन् । उनले सबैलाई सरकारमा बस्नका लागि शर्त नराखिकन अघि बढ्ने गरेको बताए । शासन गर्ने ठाउँमा गइसकेपछि अधिकार मुठीमा लिनेगरी सोच बनाइने गरेको उनको भनाई छ ।
