सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आह्वान
काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही साउन २७ गते अपरान्ह २ बजे प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गरेका छन् ।
प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश प्रमुखले आज प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गरेका हुन् ।
सरकारले दुई दिनअघि मात्रै प्रदेशसभाको चालु चौथो अधिवेशन अन्त्य गरेर बिहीवार राजश्व सङ्कलन सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश प्रदेश प्रमुखबाट बिहीवार नै प्रमाणीकरण भइसकेको छ । अध्यादेश प्रमाणीकरणसँगै आर्थिक वर्ष २०८१÷८२को बजेट पारित हुन नसकेर रोकिएको प्रदेश सरकारको कर सङ्कलन सम्बन्धी काम अगाडि बढेको छ ।
बजेट पारित हुन नसकेर प्रदेश सरकार मातहतका कार्यालयको कर सङ्कलन लगाएतको काम ठप्प भएको थियो । तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशसभामा असार १ गते प्रस्तुत बजेट पारित हुन नसकेर अलपत्र परेको थियो । मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिइसकेपछि बजेटका विषयमा कारबाही अघि बढाउने तयारी गरेका छन् ।
