sevenstartv.com २० वैशाख २०८३, आइतवार

एमालेको जग्गा विवादसम्बन्धी मुद्दा आज पनि हेर्न नभ्याउने हुँदै स्थगित

७ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध दायर भएको रिट हालसम्म पाँच पटक पेसी तोकिने अनि सुनुवाइ सर्ने भएको छ । सर्वोच्च अदालत मुद्दा फाँटका अनुसार हालसम्म उक्त मुद्दा ६ पटक पेसी तोकिएकोमा एक पटक मात्र सुनुवाइ भएको छ । 

हालसम्म यो विवादमा १२ न्यायाधीशको इजलासमा पेसी तोकिएको छ । २०८१ कात्तिक १२ गते अल्पकालीन अन्तरिम आदेश जारी भएपछि पटक पटक सुनुवाइको पेसी तोकिए पनि सुनुवाइ हुन सकेको छैन । अन्तरिम आदेश हुनुअघि एक पटक हेर्न नमिल्ने भएको थियो भने अन्तरिम आदेशपछि एक पटक हेर्न नमिल्ने इजलासमा पेसी परेपछि सरेको थियो । त्यस बाहेक चार पटक उक्त मुद्दा पेसीमा पर्ने तर हेर्न नभ्याउने हुँदै सर्दै आएको छ। २०८१ कात्तिक २६, मङ्सिर २, मङ्सिर ४ र मङ्सिर ७ गते सुनुवाइ हेर्न नभ्याउने हुँदै सरेको हो । 

आज  न्यायाधीशद्वय कुमार चुडाल र सारंगा सुवेदीको इजलासमा पेसी तोकिएको  थियो । अधिवक्ता ज्ञानबहादुर बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेश मार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । दरपिठ विरुद्ध इजलासमा निवेदन दिएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश दिएपछि दर्ता गरेको थियो ।  दर्ता भएको रिटको पहिलो सुनुवाइ गर्दै सुनिलकुमार पोखरेलको एकल इजलासमा  बिहीबार सुनुवाइका लागि एकल इजलासमा अन्तरकालीन आदेश जारी गरेको  थियो ।  

गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए। सोही दिन प्रधानमन्त्री ओलीको दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्