प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय स्थल सेनाध्यक्ष द्विवेदी
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार द्विवेदीले आज अपरान्ह साढे चार बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि उनले रक्षामन्त्री मानवीर राईसँग भेट गनर्नेछन् ।
बुधबार दिउँसो काठमाडौं आइपुगेका द्विवेदीलाई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गरेका थिए । नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप सन् १९५० देखि दुवै देशले एक अर्काका प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।
त्यसपछि उनले बिहीबार नै प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेका थिए । उनलाई सैनिक मुख्यालय जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । बिहीबारनै द्विवेदीले हनुमानढोकाको अवलोकन गरेका थिए। उनले बुधबार पशुपतिको दर्शन गरेका थिए। सेनाध्यक्ष द्विवेदीले मुक्तिनाथको पनि दर्शन गर्ने जनाइएको छ। उनी पाँच दिने नेपाल भ्रमणमा आएका हुन् ।
