पूर्वडीआईजी जोशीलाई काठमाडौं अदालतमा पेस गरिँदै
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदैछ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोप लागेका जोशीलाई बयानका लागि हिजो पोखराबाट काठमाडौं ल्याइएको थियो ।
केही दिनअघि जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
यसअघि सुप्रिम सहकारीको बचत हिनामिनाको आरोपमा जोशीलाई बयानका लागि रूपन्देही लगिएको थियो । जोशी असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए । स्वर्णलक्ष्मीको रकम अपचलनमा कुमार रम्तेलको बयानपछि जोशीलाई बयानका लागि काठमाडौं ल्याइएको हो । रम्तेललाई भने पोखरा फिर्ता गरिसकिएको छ ।
