कांग्रेस दुर्गतिको मूल कारण विशेष महाधिवेशन हो : पूर्णबहादुर खड्का
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पार्टी एकढिक्का बनाएर चुनाबमा जाने अवस्था नरहेका कारण पार्टीले पराजय भोग्नु परेको बताएका छन् । निर्वाचनमा पार्टी एकढिक्का हुने अवस्था रहेको भए कम्तीमा ७० सिट आउने दाबी उनको छ ।
नेता खड्काले कांग्रेसको हारको कारण नै विशेष महाधिवेशन रहेको उल्लेख गरेका छन् । मंगलबार धुम्बाराहीको स्मार्ट होटलमा आयोजित आफू पक्षीय नेताको भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ गर्दै उनले भने, सिंगो पार्टी एकढिक्का भएर चुनावमा जान पाएको भए पहिलो पार्टी रास्वपा नै बनेपनि ७० कांग्रेस आउथ्यो, अहिलेकै चुनावको उम्मेदवारको अवस्थामा पनि हामी ५०, ६०मा पुग्थ्यौं । चुनावको परिणाम अर्कै हुन्थ्यो । आज जे भोग्नुपर्यो देशले त्यो भोग्नुपर्ने थिएन ।’ यसैले पार्टी चुनावी हारको मूल कारण विशेष महाधिवेशन गर्ने नेताहरूकै जिम्मामा रहेको उनले आरोप लगाएका छन् ।
त्यही विशेष महाधिवेशन नै कांग्रेसका लागि चुनावको गाह्रो बन्यो । चुनावमा नेपाली कांग्रेसको जुन दुर्गति भएको छ, त्यसको मूल कारण विशेष महाधिवेशन हो,’ उनले भने । आन्तरिक द्वन्दका कारण नेपाली कांग्रेस भित्र मौलाएको अराजकता र गुटबन्दीका कारण पार्टी नै फुटको संघारमा पुगेको छ ।
पार्टीको यो अवस्थाका मुख्य दोषी विशेष महाधिवेशनको अगुवाइ गर्नेहरू नै रहेको ठहर खड्का निकट समुहको छ । र यसको जिम्मा पनि विशेष महाधिवेशनको अगुवाइ गर्नेहरूले नै लिनु पर्ने निस्कर्ष छ । विशेष महाधिवेशन र नियमित महाधिवेशनको मुद्दामा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नै वचन तोडेर धोका दिएको सो समुहको ठहर छ । सो कुराको साक्षी तत्कालीन केन्द्रीय सदस्य रमेश लेखक रहेको नेता खड्काको भनाइ छ।
