देउवा समूहले बोलाएको भेलामा डा. शेखर समूह नजाने
पूर्वमहामन्त्री कोइराला र सुजाता कोइरालाले भने सहभागीता जनाए
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आजका लागि बैठक बोलाएको छ । सो बैठक सोही समूहका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएका हुन् । उक्त भेलामा डा. शेखर कोइराला समूह भने नजाने भएको छ । तर उक्त भेलामा पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सुजाता कोइरालाले भने सहभागीता जनाएका छन् । डा शशाङ्क यसअघिका देउवा समूहका केही भेलाहरूमा उपस्थित हुने गरे पनि सुजाताको भने उपस्थिति हुने गरेको थिएन ।
काठमाडौँको महाराजगन्ज स्थित स्मार्ट होटलमा चौधौँ महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यहरू पदाधिकारीहरू तथा जिल्ला सभापतिहरूको बैठक बस्न लागेको जनाइएको छ । सो बैठकमा समूहको अबको रणनीतिबारे छलफल हुने जनाइएको छ ।
पूर्व कार्यवाहक सभापति खड्काले बोलाएको सो भेलामा नजाने कुरा निवर्तमान सहमहामन्त्री तथा शेखर समूहका नेता जीवन परियारले जानकारी दिएका छन् । देउवा समूहका नेता खड्काले १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरूको भेला बोलाएका छन् ।
त्यो भेलाबारे खड्काले शेखर समूहका नेता डा. शेखर कोइरालालाई जानकारी गराएका थिए । सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि समूहको धारणा बनाउन खड्काले बैठक बोलाएका हुन्। डा. कोइरालाले, भने भेला गर्नुस्, आफ्नो विचार के हो त्यसबारे धारणा बनाउनुस् तर, हामी आउँदैनौँ, भनेर खड्कालाई भनेको उनी निकट एक नेताले बताएका छन् ।
खड्काको संयोजनमा भएको भेलामा पूर्वउपसभापतिहरू विजयकुमार गच्छदार र विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, उमाकान्त चौधरीसहितका नेताहरूको सहभागीता रहेको छ।
