सरकारले निराशा चिर्न सकेन : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दुईतिहाइ नजिककको सरकार भएर पनि नतिजा दिन नसक्दा जनतामा निराशा बढेको टिप्पणी गरेका छन् ।
समाजमा देखिएको निराशा र पछिल्लो समय सडकमा अराजकता बढिरहेको सन्दर्भ पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा शुक्रबार भएको अन्तरसंवादका क्रममा थापाले यस्तो टिप्पणी गरेका हुन् ।
समाजको निराशाको कारणको खोजी गर्दै भएको अन्तरसंवादका क्रममा सरकार नतिजामुखी हुन नसक्दा पनि यस्तो अवस्था आएको थापाको भनाइ थियो ।
सरकारले समाज र सडकमा देखिएको निराशा चिर्न परिणाममुखी काम गर्न नसक्नु अहिलेको कमजोरी रहेको गगन थापाले बताए । फेस्टिभलमा जारी ‘निराशा ? व्याख्या र वास्तविकता सत्र’मा वक्ताका रुपमा सहभागी थापाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको वर्तमान सरकारसँग ‘सेन्स अफ अर्जेन्सी’ नभएको उल्लेख गरे ।
‘निराशालाई चिर्नका लागि ‘एक्सन’ र ‘रिजल्ट’केन्द्रित हुनुपर्ने थियो’, उनले भने, ‘तर काममा भन्दा कुराहरूमा मजाले मस्ती छ, मसँग संख्या छ, दुईतिहाइ छ भनेर सरकारको नेतृत्व ढुक्क देखिन्छ । तर, सरकारसँग ‘सेन्स अफ अर्जेन्सी’ देखिँदैन ।’
