सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटर्वाता
काठमाडौं । सभामुख देवराज घिमिरे र कम्बोडियाका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनबीच भेटर्वाता भएको छ ।
कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने महत्त्वपूर्ण विषयमा छलफल भएको बताइएको छ ।
भेटमा सभामुख घिमिरेले नेपालको बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबाट हिन्दू तथा बौद्ध सम्पदाहरूलाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा शुरु गर्नुपर्नेमा जोड दिए । सभामुख घिमिरेले नेपाल भ्रमणको लागि कम्बोडियाका प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणासमेत दिए। कम्बोडियाका प्रधानमन्त्री मानेटलेसमय मिलाएर नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे ।
सभामुख घिमिरेले आइतबार साँझ नै माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग भेट गरे। कम्बोडिया पिपल्स पार्टी मुख्यालयमा भएको भेटमा दुई देशबीचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने, संसदीय अभ्यास, क्षेत्रीय सहयोगका विषयमा सहकार्यको सम्भावनाबारे छलफल भयो ।
पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुखले आइतबार सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औँ पूर्ण सत्रमा सम्बोधन गरेका थिए । सभामुख मंगलबार स्वदेश फर्किनेछन् ।
