चालू आर्थिक वर्षमा ६ लाख टन रासायनिक मल आपूर्तिको सुनिश्चित
काठमाडौं । चालू आर्थिक वर्ष ०८२/८३ मा सरकारको लक्ष्यअनुसार ६ लाख टन रासायनिक मल आपूर्तिको सुनिश्चित भइसकेको पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चालू आवको फागुन १० सम्ममा तीन लाख ९० हजार ६६ टन रासायनिक मल किसानलाई वितरण भइसकेको छ । मल वितरणपछि पनि कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको गोदाममा अहिले एक लाख २७ हजार चार सय ९२ टन मौज्दात छ ।
त्यस्तै, ३३ हजार तीन सय ९५ टन कोलकत्ता बन्दरगाहबाट आउने क्रममा छ । थप ५२ हजार टन कृषि सामग्रीको टेन्डरअनुसार ‘सिपमेन्ट’ हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ । यो बाहेक आगामी असार, साउन र भदौका लागि तीन लाख पाँच हजार टन रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयबाट स्रोत सहमति लिइसकिएको बताइएको छ । स्रोत सहमति प्राप्तमध्ये दुई लाख १० हजार टन कृषि सामग्री र ९५ हजार टन साल्ट ट्रेडिङमार्फत आपूर्ति हुनेछ । कृषि सामग्रीले असार, साउन र भदौका लागि अहिले नै डेढ लाख टन मलको टेन्डरसमेत निकालिसकेको छ ।
सरकारले यो वर्ष मल खरिदका लागि अनुदानबापत २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ व्यहोरेको छ । चालू आवको १० फागुनसम्म कृषि सहकारी, एग्रोभेट र निजी बिक्री केन्द्रमार्फत तीन लाख ९० हजार ६६ टन मल बिक्री भएको मन्त्रालयले जनाएको छ । यसमध्ये युरिया दुई लाख २७ हजार सात सय ८१ टन, डिएपी एक लाख ५१ हजार एक सय १४ टन र पोटास ११ हजार एक सय ७० टन बिक्री भएको मन्त्रालयको तथ्यांक छ ।
यो अवधिमा कृषि सामग्रीका तर्फबाट युरिया एक लाख ७६ हजार सात सय १० टन, डिएपी एक लाख ६ हजार एक सय ७१ टन र पोटास पाँच हजार सात सय २९ टन गरी कुल दुई लाख ८८ हजार ६ सय ११ टन मल बिक्री भएको छ भने साल्ट ट्रेडिङका तर्फबाट युरिया ५१ हजार ७० टन, डिएपी ४४ हजार नौ सय ४३ टन र पोटास पाँच हजार चार सय ४० टन गरी कुल एक लाख एक हजार चार सय ५४ टन बिक्री भएको मन्त्रालयले जनाएको छ ।
कृषि सामग्री र साल्ट ट्रेडिङको गोदाममा १० फागुनसम्म एक लाख २७ हजार चार सय ९४ टन रासायनिक मल मौज्दात छ । कृषि सामग्रीको गोदाममा युरिया ६१ हजार नौ सय ११ टन, डिएपी २५ हजार दुई सय ५० टन र पोटास नौ हजार चार सय ८८ टन गरी कुल ९६ हजार ६ सय ५० टन मौज्दात छ । त्यस्तै, साल्ट ट्रेडिङको गोदाममा युरिया १४ हजार एक सय ८४ टन, डिएपी १२ हजार ६ सय नौ टन र पोटास चार हजार ४८ टन गरी कुल ३० हजार आठ सय ४२ टन मौज्दात छ ।
