गरिबी निवारणका ठोस कार्यक्रममा बजेट चुक्यो : पूर्व अर्थमन्त्री खतिवडा
वर्तमान सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ल्याएको बजेट सस्तो लोकप्रियतामा केन्द्रित रहेको पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले आरोप लगाएका छन् । बजेटले मध्यम वर्गलाई रिझाउन खोजे पनि आधारभूत तहका जनता र गरिबी निवारणका ठोस कार्यक्रमहरूमा बजेट चुकेको खतिवडाले विश्लेषण गरेका छन ।
डा. खतिवडाले एक कार्यक्रममा बोल्दै आर्थिक वृद्धि भएको देखाएर जनताको आखामा छारो हाल्न खोजेको औंल्याउँदै अर्थमन्त्री वाग्लेले बजेटमार्फत अघि सारेको आर्थिक वृद्धि भएपछि रोजगारी र अन्य अवसरहरू स्वतः सिर्जना हुन्छन् भन्ने मान्यता नरहेको बताएका छन् ।
डा. खतिवडाले आर्थिक वृद्धिको एउटा मोडल पछ्याएको बताउँदै भने, आर्थिक वृद्धि भयो भने स्वतः अरू सबै कुराहरू स्वतः हल हुँदै जान्छन्, रोजगारी पनि स्वतः सिर्जना हुन्छ । तर, आर्थिक वृद्धि गरिबी निवारणको लागि र समानुपातिक वृद्धिको लागि, समन्यायिक वृद्धिको लागि पर्याप्त सर्त होइन है भन्ने कुरालाई अलि बिर्सिनुभयो । उनले अर्थमन्त्रीले लिएको लक्ष्य र कार्यान्वयनको पक्षमा समेत शङ्का व्यक्त गरेका छन् ।
