sevenstartv.com ११ जेठ २०८३, सोमवार

मितेरी सहकारीको रकम हिनामिना प्रकरण : ज्योती गुरुङका नाममा २१ दिने सूचना जारी

११ जेठ २०८३, सोमवार स्टार संवाददाता

काठमाडौं । मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएकी ज्योती गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिने सूचना जारी गरेर सबुतप्रमाणसहित प्रतिउत्तर पेश गर्न आदेश दिएको छ ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ लामडाँडा स्थायी घर घई हाल ललितपुर महानगरपालिका १४ थसिखेल बस्ने ४८ वर्षीया ज्योती कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी हुन् ।

नेपाली कांग्रेसका नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योतीमाथि सहकारीको साढे १२ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ । बेलायती र भारतीय सेनामा काम गरेका पूर्वसैनिकहरु मिलेर ललितपुर महानगरपालिका–५ महालक्ष्मी स्थानमा कार्यालय रहने गरी मितेरी सहकारी खोलेका थिए ।

सहकारीको साढे १२ करोड हिनामिना गरेको भन्दै सहकारीका सचिव बोधबिक्रम थापाले गत आइतबार महाप्रबन्धक ज्योति गुरुङसहित ५ जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी दिएका थिए । सूचनामा लेखिए अनुसार बोधविक्रम थापाले ज्योतिविरुद्ध लेनदेन मुद्दा दायर गरेका थिए ।

त्यस अनुसार जिल्ला अदालतबाट गुरुङका नाममा जारी भएको म्याद बदर भई २०८३ साल जेठ ५ मा भएको आदेश अनुसार मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १०५ को उपदफा २२ बमोजिम २१ दिने सूचना जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

सूचना पत्रिकामा प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक २१  दिनभित्र आफैं वा कानुन बमोजिमको प्रतिनिधि मार्फत् आफ्नो भएको सबुद प्रमाणसहित प्रतिउत्तर पत्र लिई यस अदालतमा उपस्थित हुनु भनि आजको गोरखापत्रमा सूचना प्रकाशित गरिएको छ ।

साथै म्यादभित्र उपस्थित नभई म्याद गुजारी बसे मुद्दा कानुन बमोजिम हुने र पछि कुनै उजुर नलाग्ने समेत सूचनामा उल्लेख गरिएको छ । मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी समेत भएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्