sevenstartv.com १० माघ २०८२, शनिवार

बैंकहरूमा बढ्यो बिक्री हुन नसकेका लिलामीको घरजग्गा

१० माघ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋण नतिर्नेको आकार बढ्दै जाँदा धितो लिलामीका घरजग्गा (गैरबैंकिङ सम्पत्ति–एनबीए) झन् बढिरहेको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको कार्यकारी निर्देशकको संयोजकत्वमा कम्पनी स्थापनाको लागि अध्ययन समिति बन्यो ।

उक्त प्रक्रिया सुरु भएको डेढ दशक बित्यो तर, यसले कुनै पनि काम अघि बढाउन सकेको छैन । यस हिसाबले केन्द्रीय बैंकको प्राथमिकतामा सम्पत्ति व्यवस्थापन कम्पनी प्राथमिकतामा नपरेको देखिन्छ । एकातर्फ खराब कर्जाको आकार बढ्नु र अर्कोतर्फ लिलामी सम्पत्ति लामो समयदेखि बैंकहरूबाट पनि बिक्री नहुँदा गैरबैंकिङ सम्पत्ति झन् थुप्रिएको बैंकरहरूको गुनासो छ ।

लिलामीका सम्पत्ति वर्ष दिनमै १२ अर्ब ४२ करोड ७८ लाख ८० हजार रुपैयाँ थपिँदा हालसम्म कुल ५१ अर्ब एक करोड ५४ लाख ७० हजार रुपैयाँबराबर पुगेको छ । यो चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को मंसिर मसान्तसम्मको तथ्यांक हो । गत आवको सोही अवधिमा यस्तो सम्पत्ति ३८ अर्ब ५८ करोड ७५ लाख ९० हजार रुपैयाँबराबर पुगेको थियो । उक्त तथ्यांक स्ट्यान्डर्ट चार्टर्ड बैंकबाहेकका १९ वाणिज्य बैंक, १७ विकास बैंक र नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सबाहेक १६ वित्त कम्पनीहरूको हो ।  चालु आवको दोस्रो त्रैमाससम्ममा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा (एनपीए) औसत ५.२६ प्रतिशत पुगेको छ ।

ऋण तिर्न नसक्ने बढ्दा ऋणीले राखेको धितो स्वरुपका घर र जग्गालाई बैंकले लिलामी गरेर राखेका छन् । लिलामीका घरजग्गा बिक्री नहुँदा गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ ।  बैंंकिङ प्रणालीको सबैभन्दा बढी हिस्सा ओगट्ने वाणिज्य बैंकहरूमा मात्रै कुल ४० अर्ब रुपैयाँमध्ये वाणिज्य बैंकहरूमा मात्रै ४३ अर्ब पाँच करोडबराबरको गैर–बैंकिङ सम्पत्ति छ ।

कुल २० वाणिज्य बैंकहरूमध्ये ग्लोबल आईएमई बैंकसँग सबैभन्दा बढी पाँच अर्ब ९९ करोड ७० लाख रुपैयाँबराबरको लिलामीको सम्पत्ति थुप्रिएको छ । त्यसैगरी हिमालयन बैंक पाँच अर्ब ९२ करोड १६ लाख रुपैयाँ छ । वृद्धिदरका आधारमा हेर्दा नेपाल एसबीआई बैंकको गैरबैंकिङ सम्पत्ति सबैभन्दा धेरै १७२.३३ प्रतिशतले बढेको छ भने प्राइम बैंकको १४७.८१ प्रतिशतले वृद्धि भएको छ ।  स्ट्यान्डर्ड चार्टर्ड बैंकको भने यस्तो सम्पत्ति शून्य रहेको छ । सञ्चालनमा रहेका १७ विकास बैंकहरूमा यस्तो सम्पत्ति चार अर्ब ८८ करोड दुई लाख रुपैयाँ हाराहारीमा छ ।

विकास बैंकहरूमध्ये गरिमा विकास बैंकको गैरबैंकिङ सम्पत्तिमा २०३.७७ प्रतिशतको उच्च वृद्धि देखिएको छ । यस्तै, नारायणी डेभलपमेन्ट बैंकको १५३.०१ प्रतिशतले बढेको छ । यता, वित्त कम्पनीहरूको अवस्था झनै भयावह देखिएको छ । सञ्चालनमा रहेको १७ वित्तीय कम्पनीमा गैरबैंकिङ सम्पत्ति तीन अर्ब आठ करोड ४२ लाख रुपैयाँ हाराहारीमा छ ।  केन्द्रीय बैंकको तथ्यांकअनुसार जानकी फाइनान्सको गैरबैंकिङ सम्पत्तिमा १३,७३९.३६ प्रतिशतको अस्वाभाविक वृद्धि देखिएको छ ।

त्यस्तै, गुहेश्वरी मर्चेन्टको पनि १,३१५.८३ प्रतिशतले यस्तो सम्पत्ति बढेको देखिन्छ । समग्रमा उक्त तथ्यांकले नेपाली बैंकिङ क्षेत्रमा खराब कर्जाका कारण धितो लिलामी हुने क्रम तीव्र बनेको र बैंकहरूले ती सम्पत्ति बिक्री गर्न नसक्दा वित्तीय प्रणालीमा चाप परिरहेको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्