sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

तिहार 'फ्लोरा एक्स्पो' सकियो, एक करोडको कारोबार

२ कार्तिक २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी पाँचदिने ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ सकिएको छ ।

एक्स्पो नेपाल नर्सरी व्यवसायी संघले आयोजना गरेको उक्त एक्स्पोमा एक करोडको कारोबार भएको छ । संघकी उपाध्यक्ष एवं एक्स्पो संयोजक लक्ष्मी महर्जनले ३५ हजार बढीले अवलोकन गरेका एक्स्पोमा एक करोडको कारोबार भएको जानकारी दिइन् ।

फ्लोरा समापन कार्यक्रममा सहभागी पूर्ववातावरणमन्त्री गणेश साहले ‘वातावरण जोगाऊ’ अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिए । नायिका मनीषा कोइरालाले परम्परागत रैथाने बिरुवाहरूको संरक्षण र संवर्धन गर्नुपर्ने भन्दै यसले वातावरणमा सन्तुलन काय राख्ने धारणा राखीन् ।

संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले आगामी दिनमा आयोजना गरिने एक्स्पोमा परम्परागत स्थानीय रैथाने नर्सरी बिरुवालाई समेत प्राथमिकता दिने प्रतिबद्धता जनाए । व्यवसायीहरूलाई प्रोत्साहन गर्न घरघरमा राखिएका नर्सरी तथा फूललाई पनि आगामी दिनमा प्रतिस्पर्धा गराउने योजना रहेको उनले जानकारी दिए ।

एक्स्पोमा ६२ वटा व्यावसायिक स्टलसहित वनस्पति विभाग, पुष्प विकास केन्द्रलगायतको अफिसियल चारवटा स्टल तथा प्रतिस्पर्धाका चार स्टल गरी ७० स्टल रहेका आयोजकले जनाएको छ । व्यवसायीको हौसला बढाउन पुरस्कृत गरिएको थियो ।

एक्स्पोमा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलङ्कारिक फूलका साथै मलखाद, अर्ग्यानिक एवं रासायनिक विषादी, बीउबिजन, औजार उपकरण तथा प्रविधिको स्टल राखिएको थियो । एक्स्पोको प्रवर्धन पुष्प विकास केन्द्र र वनस्पति विभागले गरेका हुन् । सङ्घले तिहारलक्षित तिहार फ्लोरा एक्स्पो र चैतमा हर्टिकल्चर एक्स्पो गरी वर्षमा दुईवटा मेला गर्दै आएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्