सशस्त्रको बीओपी स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बल नेपालको जिमुवा बोर्डर आउट पोष्ट ९बीओपी० स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण गरिएको छ ।
सीमा निगरानीका लागि २०७७ साल असोजमा स्थापना भएको उक्त बीओपीमा आवास, अतिथि गृहसहितका पूर्वाधार निर्माण गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षको योजनाअन्तर्गत निर्माण गरेको अतिथि गृह भवनको आइतबार उद्घाटन गरिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्कीले अतिथि गृह भवनको उद्घाटन गरे ।
अतिथि गृह भवनको उद्घाटन गर्दै मन्त्री सार्कीले मन्त्रालयले बीओपीमा पूर्वाधार सुधार गर्ने योजनाअन्तर्गत भवन निर्माण गरिएको बताए । उनले बीओपीमा पूर्वाधार नहुँदा सीमा सुरक्षार्थ खटिएका प्रहरीले आफैँ सुरक्षित हुने अवस्था नरहेकाले प्रदेश सरकारले प्राथमिकताका साथ पूर्वाधार निर्माण गरिरहेको बताएका छन् ।
प्रदेश सरकारद्वारा विनियोजित ४० लाख बजेटमा २९ लाख ७३ हजार रुपैयाँमा ठेक्का सम्झौता भई अतिथि गृह निर्माण गरिएको जनाइएको छ । चालु आर्थिक वर्षमा थप तीन वटा बीओपीमा पूर्वाधार निर्माण गर्ने प्रदेश सरकारको योजना छ । जिमुवामा गत वर्षको सङ्घीय योजनाअन्तर्गत दुई वटा प्रहरी ब्यारेक भवनको निर्माण सम्पन्न भएको छ । जिमुवा क्षेत्रको दुर्गम टोल श्रीलङ्कामा रहेको बीओपी यसअघि खानेपानी कार्यालयको भवनमा बस्दै आएको थियो ।
