कांग्रेस सभापति थापाले ओढाए खरेलको पार्थिव शरीरमा पार्टीको झन्डा
दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजेबाट राखिएको खरेलको पार्थिव शरीरमा सभापति थापा, महामन्त्री प्रदीप पौडेललगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताको सहभागितामा पार्टीको झन्डा ओढाइ श्रद्धाञ्जली प्रकट गरिएको हो ।
लामो समयदेखि दमका कारण अस्वस्थ्य रहेको उनी बानेश्वर स्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत थिए । ८० वर्षीय खरेलको आइतबार राति पौने १० बजे निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । नेता खरेलका तीन छोराहरु कृष्ण चन्द्र खरेल, महेश खरेल, शैलेश खरेल र श्रीमती देवकी खरेल रहेका छन् ।
जेठा छोरा कृष्ण चन्द्र खरेल तथा कान्छो छोरा शैलेश खरेल लामो समयदेखि अमेरिकामा रहदै आएका भए पनि हाल स्वदेशमा नै रहेका छन् ।
माइला छोरा महेश खरेल भने विगत १४ बर्ष यता अमेरिकामबाट फर्किएर पिताको विरासतलाई कायम राख्दै कांग्रेसको सक्रिय राजनीति गरिरहेका छन् । उनी हाल पाँचखाल नगरपालिका मेयर समेत रहेका छन् ।
स्वर्गिय खरेलको शव अहिले अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । उनको आजै दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी भइ रहेको पारिवारिक स्रोतले बताएका छन् भएको छ ।
