विशेष समितिले पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशसँग बयान लिँदै
काठमाडौं । सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशसँग बयान लिने भएको छ ।
बिहीबार नै बयान लिए भनिए पनि ढिला सहभागी भएकाले आज मात्रै बयान लिने क्रम सुरु गरिने बताइएको हो । सुप्रिम सहकारीमा कोषाध्यक्ष रहेका दीपेश करिब १० हजार बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँ हिनामिनामा जोडिएको भन्दै गत चैत २ गते पक्राउ परी धरौटीमा छुटेका थिए ।
आज बिहान ११ बजेदेखि सनराइज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक नगेन्द्र बहादुर रिमाललाई जेलबाट झिकाएर बयान लिँदैछ । धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका संचालक मान विश्वकर्मासँग पनि बयान लिनेछ ।
समितिले बिहीबार ओरियन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेतसँग बयान लिएको थियो । सुप्रिम सहकारीका संचालक ओमबहादुर गुरुङको पनि जेलबाट झिकाएर समितिले बयान लिएको छ । यही सहकारीकी कर्मचारी रोशनी गुरुङको पनि बयान लिइएको छ । समितिले जेलमा रहेका हालसम्म ९ जनाको बयान लिइसकेको छ ।
