आजका सात समाचार
काठमाडौं ।
माओवादी बैठक
नेकपा माओवादी केन्द्रले सातवटै प्रदेशमा बैठक सकेर असोज पहिलो साता केन्द्रीय कमिटी बैठक बोलाएको छ । बिहीबार सम्पन्न स्थायी कमिटी बैठकले असोज पहिलो साता केन्द्रीय समिति बोलाउने निर्णय गरेको हो ।
अध्यक्षदेखि उपमहासचिवसम्मका सबै पदाधिकारी जाने प्रदेशका बैठकहरुमा सहभागी हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । उनका अनुसार बागमतीमा भदौको ५-६, उपत्यका विशेष प्रदेशमा ७-८ गण्डकीमा ९-१०, सुदूरपश्चिममा १२-१३, कर्णालीमा १४-१५ गते बैठक बस्नेछ । लुम्बिनी प्रदेशमा भदौको १६-१७, केन्द्रीय आयोगहरुको १८ गते, मधेशमा २२-२३, कोशीमा २४-२५, जबज मोर्चाको २७-२८ र सल्लाहकार, कम्युनिष्ट मञ्च लगायतको २९-३० गते बैठक हुनेछ ।
प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुट्ने कुरा निराधार रहेको बताएका छन् ।बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायि कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पार्टी फुट्ने कुरा निराधार रहेको र लामो समयदेखि हल्ला फिँजाइएको बताए । उनले उपमहासचिव जनार्दन शर्माले पार्टी फटाउने भन्ने हल्ला फिँजाइएको भन्दै उक्त हल्ला गलत रहेको बताए । उनले पार्टी एकतावद्ध भएको पनि बताएका छन् ।
टीआरसी राष्ट्रियसभामा
संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक बिहीबार राष्ट्रिय सभामा पेश भएको छ । बुधबार प्रतिनिधिसभो बैठकबाट सर्वसम्मतिले पारित विधेयकलाई सरकारले राष्ट्रिय सभामा लगेको हो ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक,२०८१ पारित गरेको थियो । बिहीबार बसेको बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले विधेयक पारित भएकोबारे प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गरासहित टेबुल गराए । राष्ट्रियसभामा महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन, २०८१ पेश भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन, २०८१ सभासमक्ष पेश गरे । सभाको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन, २०८१ सभा समक्ष पेश गरे । राष्ट्रिय सभाको अर्को बैठक भदौ २ गते आइतबार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।
अख्तियार प्रमुख
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको मुद्दामा हदम्यादको विषयमा आयोगको कुनै धारणा नरहेको बताएका छन् ।
बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख आयुक्त राईले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद राख्ने विषय आएको भन्दै त्यसमा आयोगको कुनै धारणा नरहेको स्पष्ट पारेका हुन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १३ मा ५ वर्षकै हदम्यादको विषय विद्यमान रहेको भन्दै त्यसैसँग मिलान गर्नका लागि ऐनमा यो व्यवस्था गरिएको जस्तो देखिएको बताए ।
उनले सरकारी सम्पत्तिको हानी, नोक्शानी तथा हिनामिना भएको अवस्थामा हदम्याद नहुने तर सरकारी सम्पत्तिको हानी, नोक्शानी नहुने खालको र बिगो समेत नहुने अवस्थाको हकमा हदम्याद राखिएको देखिएको बताएका छन् । उनले हदम्यादको विषय संसद र संसद बाहिरपनि छलफलको विषय भइरहेको भन्दै यसमा आयोगको कुनै धारणा नभएको स्पष्ट पारे । उनले हदम्यादको विषयलाई समिति र संसदले नै निक्र्यौल गर्नुपर्ने आयोगको धारणा रहेको बताए ।
कुलमान घिसिङ
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल लोडसेडिङ हुँदा खुशी हुने जमातले आफ्नो विरोध गरेको गुनासो गरेका छन् ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालमा लोडसेडिङ हुँदा खुशी हुने जमात धेरै रहेको बताएका हुन् । उनले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुशी हुने जमात पछिल्लो समय विरोध गर्दै गलत सूचना फैलाइरहेको बताए ।
उनले केही जिम्मेवार पदाधिकारीले प्राधिकरणको हिसावकितावप्रति आशंका व्यक्त गरेको बताए । उनले महालेखा परीक्षकको तीन वटा संस्थाले अडिट गरेको हिसाब पारदर्शी रहेको भन्दै गलत हुन नसक्ने बताए । उनले प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राखे । उनले प्राधिकरणले अहिलेसम्म गरेको नाफा पारदर्शी रहेको भन्दै कुनै मिथ्या तथ्यांकका आधारमा नभएको दाबी गरे ।
उनले आठ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण २५ प्रतिशत विद्युत महशुल घटाएर ४७ अर्ब नाफामा पुग्नु सुखद् भएको उल्लेख गरे । उनले २५ अर्बको विद्युत महशुल घटाएर पनि प्रत्येक वर्ष १३ अर्ब नाफामा जानु भनेको प्राधिकरणले आम्दानीमा क्रान्ति गरेको दाबी गरेका छन् । उनले विद्युत महशुल बढाएर नभइ घटाएर नाफामा गएको पनि बताए । उनले सामाजिक दायित्वलाई हेरेर २२ लाख ग्राहकलाई प्राधिकरणले छुट दिएको तर अर्थ मन्त्रालयले त्यसको सोधभर्ना समेत नगरेको बताएका छन्
शेयर बजार
काठमाडौं । साउन महिना र साताको अन्तिम कारोबारका दिन बिहीबार शेयर बजार कारोबार रकम नयाँ कीर्तिमान कायम भएको छ । नयाँ सरकार बनेसँगै पछिल्लो एक महिनादेखि नेपाली पुँजीबजारमा नयाँ नयाँ रकर्ड बन्दै गएको छ ।
सोमबार २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार गरेर नयाँ रेकर्ड नेप्सेले बिहीवार तोडेको छ । गत सोमबारको शेयर बजार कारोबारमा २७ अर्ब २४ करोड रुपैयाँ कारोबार भएकोमा बिहीबार उक्त कारोबार रकमलाई तोड्दै उच्च रेकर्ड कायम भएको हो ।
कारोबार रकममा नयाँ रेकर्ड बनाउँदै नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ बिन्दुमा पुगेको छ । साताको अन्तिम कारोबार दिन नेप्से भने साढे १ प्रतिशत बढेर ३००० बिन्दुभन्दा माथि पुगेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १६.०१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ४.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.४४ अंकले बढेको छ । बिहीबार कारोबारमा आएका ३३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार कित्ता शेयर २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
गत सोमवार उक्त कारोबार रकम २७ अर्ब २४ करोड रुपैयाँ बराबरको रहेको थियो । १३ उपसमूहमध्ये बैंकिङ उपसमूहको परिसूचक ५.६५ प्रतिशत बढेको छ । म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको वित्त उपसमूहको परिसूचक ३.०५ प्रतिशत घटेको छ ।
बिहीबार ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी ईनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने एनएमबि बैंक, ग्लोबल आइएमई बैंक र लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । बिहीबार कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्सको ९१ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
साफ यू २०
अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-२० च्याम्पियनसिपका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाले दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार भाद्र २ देखि १२ गतेसम्म हुने साफ यू २० च्याम्पियनसिपको तयारी पूरा भएको बताएको छ ।
पत्रकार सम्मेलनमा अहिलेका लागि दशरथ रंगशालाको विकल्पका रूपमा एन्फा कम्प्लेक्सलाई स्वीकृत दिइएको एन्फाले जनाएको छ । सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा गर्ने तयारी गरे पनि रंगशालाको अवस्थाका कारण कठिन हुने भएकाले एन्फा कम्प्लेक्समा सारिएको हो ।
यसअघि एएफसी च्यालेन्ज लिगको छनोट खेलमा मंगलबार नेपालको चर्च ब्वाइज र भुटानको पारोबीच प्रतिस्पर्धा हुँदा दशरथ रंगशालाको मैदान हिलाम्य बनेको थियो । साफ यू-२० च्याम्पियनसिपका खेलहरु आइतबारदेखि सुरु हुँदै छ । च्याम्पियनसिपमा सहभागी हुने ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपालसहित बंगलादेश र श्रीलंका र समूह बीमा भारत, माल्दिभ्स र भुटान रहेका छन् । नेपाल र श्रीलंकाले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
