एमालेको जग्गा विवादसम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा
काठमाडौं । भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गा दिएको विषयमा परेको रिट निवेदन सर्वोच्च अदालतले हेर्न नभ्याउनेमा राखेको छ ।
न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासमा आज पेशी तोकिएको थियो । तर उनीहरूले समय अभावका कारण उक्त पेशी आज हेर्न नभ्याउनेमा राखेका हुन् । न्यायाधीशद्वयको इजलासमा ‘न’ नम्बरमा पेशी परेको थियो । उक्त पेशीभन्दा अघि अन्य मुद्दाको सुनुवाई भएकाले आज उक्त पेशी हेर्न नभ्याइएको हो ।
यसअघि ७ मंसिरमा न्यायाधीशहरू डा.कुमार चुडाल र शारंगा सुवेदीको इजलासमा यो मुद्दाको पेशी तोकिएकोमा उनीहरूको पनि समय अभावका कारण मुद्दा हेर्न भ्याइएको थिएन । यो मुद्दामा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले प्रक्रिया अघि नबढाउनु भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ । त्यसले निरन्तरता पाउने कि नपाउने भन्ने छलफलका लागि मुद्दाका दुवै पक्षलाई बोलाइएको थियो ।
