प्रधानमन्त्रीभन्दा अघि चीन भ्रमणमा जाँदै परराष्ट्र मन्त्री राणा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भन्दा अगाडि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा चीन जाने भएकी छन् । उनी प्रधानमन्त्रीको चीन भ्रमण तयारीका लागि चीन जान लागेकी हुन् ।
आफू बुधबार पछि चीन जान लागेको सोमबार प्रधानमन्त्री ओलीले आयोजना गरेको छलफलका क्रममा जानकारी गराएकी छिन् । उनले भनिन्, ‘म यो भ्रमणको पूर्व तयारीको लागि दुई दिन पछि जाँदै छु ।’ परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी मंसिर १३ गते बेइजिङ जाने तयारीमा छिन् ।
उनले १४ गते समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले बताएको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिका तय गरिसकेको छ । प्रस्तावित तालिका अनुसार प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जानेछन् ।
