sevenstartv.com २० वैशाख २०८३, आइतवार

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

१८ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज तीन जना मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने  भएका छन् । 

दिउँसो १ बजे बस्ने बैठकमा सहरी विकास मन्त्री प्रकाशमान सिंह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी र खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । 

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउनेछन् । संसदका दुवै सदनले पारित गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १३ गते प्रमाणीकरण गरेका थिए । 

बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ र ‘सार्वजनिक सेवा प्रसारण विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको छ । 

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नेछन् । मन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन  प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ । 

राष्ट्रियसभाको बैठक पनि आजै दिउँसो सवा १ बजे बस्दैछ ।  बैठकमा उर्जा, जलस्रोत तथा सिचाईमन्त्री दीपक खड्का र खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।  बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुने कार्यसूचि पनि रहेको छ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०७९र८० को चौथौ वार्षिक प्रतिवेदन सभासमक्ष पेश हुनेछ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्