आजका प्रमुख सात समाचार
काठमाडौं ।
प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सार्वजनिक रुपमा बोल्दा सचेत हुन निर्देशन दिएका छन् ।
मन्त्रालयको नियमित रिपोर्टिङ गर्न पुगेका सञ्चारमन्त्रीलाई प्रधानमन्त्री विवादित विषय नबोल्न निर्देशन दिएका हुन् ।
एमालेका उपमहासचिवसमेत रहनुभएका गुरुङले पोखरामा भएको एक कार्यक्रममा प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।
सरकारका प्रवक्तासमेत रहेका गुरुङको यो अभिव्यक्ति विवादमा तानिएपछि प्रधानमन्त्रीले सोधपुछ गरेका हुन् ।
सरकारको अहिले भइरहेको कामहरुको विवरण सुनाएपछि पत्रकारको प्रश्नको जवाफ दिनेक्रममा आफूले प्रहरी समायोजनको विषयमा बोलेको उनले स्वीकार गरे ।
प्रधानमन्त्रीले हरेक कुरामा लामो लामो नबोल्न र छोटो भाषण प्रयोग गर्न निर्देशन दिएको पनि उनले बताए ।
मन्त्री शपथ
नयाँ समीकरण बनेको २ महिनापछि गण्डकी सरकारले पूर्णता पाएको छ । नेकपा एमालेका ४ मन्त्रीले शपथ लिएसँगै सरकारले पूर्णता पाएको हो ।
एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
नवलपुरकी पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी, बागलुङका कृष्ण पाठकले स्वास्थ्य, पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीका रुपमा शपथ लिएका हुन् ।
गण्डकीमा ७ बाट बढाएर ९ मन्त्रालय बनाएपछि एमालेले ४ मन्त्रालय पाएको हो । सामाजिकबाट फुटाएर स्वास्थ्य बनाइएको हो भने एउटै मन्त्रालय रहेको उद्योग तथा पर्यटन र वन तथा वातावरणलाई दुई वटा बनाइएको छ ।
४ मन्त्री नियुक्ति गरेर शपथ खुवाएसँगै नयाँ समीकरण बनेको २ महिनापछि गण्डकीको मन्त्रिपरिषदले पूर्णता पाएको छ ।
यता, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङेलाई वनमन्त्री बनाएपछि उनले राजीनामा दिएका छन् । को राजीनामा सोमबार नै स्वीकृत भएको छ ।
पर्यटनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले पर्यटन क्षेत्रमा रहेका नीतिगत समस्यालाई परिमार्जन गर्ने बताएका छन् ।
राजधानीमा भएको एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले सरकार पर्यटन नीति परिवर्तन गर्ने संघारमा रहेको उल्लेख गरे । उनले संस्कृति नीति,हवाई नीति र पर्यटन ऐन पनि संशोधनको अन्तिम चरणमा पुगेको भन्दै त्यसमा निजी क्षेत्रले आवश्यक सुझाव दिन आग्रह गरे ।
उनले पर्यटन मन्त्रालय सरकारले मात्रै चलाउन असम्भव रहेको पनि बताए । उनले पर्यटन मन्त्रालय भुमिका, कार्यक्षेत्रका दृष्टिकोणले सरकारले मात्रै मन्त्रालय चलाउन असम्भव रहेको बताए । उनले पर्यटन क्षेत्रका चुनौती समाधानको लागि निजी क्षेत्रकै सार्थक हस्तक्षेप र क्रियाशिलताको आवश्यक रहेको बताए ।
बालेन
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्ना कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा ल्याउन सुझाव दिएका छन् ।
एमाले प्रदेश सांसद रेखा शर्माले ८ वर्षदेखि एक नाबालिगलाई हिंसा गरेको र कारबाही गर्न वर्तमान सरकारले नमानेको विषय उजागर गर्दै मेयर बालेनले शुक्रबार साँझ एक स्टाटस लेखेका थिउ । सो स्टाटसपछि एमालेको भातृ संगठन अनेरास्ववियूका अध्यक्ष समिक बडालले मेयर बालेनप्रति आक्रामक हुँदै भारतीय खुफिया एजेन्सीको सहयोगमा जनताको आँखामा छारो हाल्ने काम गरेको आरोप लगाएका थिए ।
उक्त विषय पेचिलो बन्दै जाँदा सोमबार दिउँसो बडालले एक भिडिओ ब्रिफिङ सामाजिक सञ्जालमा राख्दै उल्टै सर्वोच्चले मेयर बालेनलाई नै पक्राउ गर्ने आधार दिएको उल्लेख गरेका छन् ।
उक्त विषयमा लामो स्टाटस लेख्दै मेयर बालेनले सोमबार दिउँसो लामो स्टाटस लेखेर जवाफ दिँदै उच्च अदालतको अन्तिम फैसलाले सांसद शर्माको निषेधाज्ञाको रिटको दाबी नपुग्ने भन्दै प्रहरीलाई अनुसन्धान गर्ने बाटो खोलेको मेयर बालेनले उल्लेख गरेका छन् ।
दिनेश डिसी
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बार्डका कर्मचारीहरुलाई भ्रष्टाचारको अभियोग लागेको ३० मिनेटभित्रै पदमुक्त गर्ने चेतावनी दिएका छन् ।
भ्रष्टाचार गरेको महशुस भएको खण्डमा आधा घण्टाभित्र पदबाट हटाउने र प्रमाणित भए ५ मिनेटभित्र गेटबाट बाहिर निकाल्ने बताए ।
सोमवार चलचित्र विकास बोर्डको नेतृत्व सम्हालेपछि कुरा गर्दै उनले आफूले गरेको सो निर्णयमा प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्रीहरु कसैले भने पनि नमान्ने बताए । उनले आफू काम गर्नका लागि चलचित्र विकास बोर्डमा आएकाले अन्तरवार्तामा समय खेर नफाल्ने र सय दिनपछि मात्रै अन्तरवार्ता दिने बताए ।
कार्यक्रममा कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल लगायतले सबैकुरा बुझेको व्यक्ति चलचित्र विकास बोर्डको नेतृत्वमा आएकाले चलचित्र क्षेत्रले परिवर्तनको महशुस गर्ने विश्वास व्यक्त गरे ।
कलाकार दीपकराज गिरीले चलचित्र क्षेत्रमा बुझाइको हिसावले सही व्यक्ति नेतृत्वमा आएको र सही स्थानमा आएको बताए ।
कलाकार केदार घिमिरेले सबै सीप र क्षमता भएको व्यक्ति नेतृत्वमा आउँदा चलचित्र क्षेत्रमा केही नयाँ परिवर्तन हुने विश्वास व्यक्त गरे । कलाकार जितु नेपालले चलचित्र क्षेत्रमा केही परिवर्तन आउनुपर्ने बताए ।
झाडा पखला
बाँकेको नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ ।
नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेको बताइएको छ । झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको हो ।
भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको बताइएको छ । सो क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पुगेर बिरामीको उपचार भइरहेको छ ।
झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समन्वय गरेर काम भइरहेको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ । गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको आशंका छ ।
खेल समाचार
सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशले एन्फा महिला लिगमा विजयी सुरुवात गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको लिगको दोस्रो खेलमा अस्मिता खवासको ह्याट्रिकमा बागमतीले सुदूरपश्चिमलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।
लिगमा ह्याट्रिक प्रहार गर्ने अस्मिता पहिलो खेलाडी हुन् । लिगमा मंगलबार दुई खेल हुनेछन् ।
पहिलो खेलमा चन्द्रपुर नगरपालिकाले कर्णाली प्रदेशसँग खेल्नेछ । एपीएफ क्लबले नेपाल पुलिस क्लबसँग खेल्ने तालिका छ ।
