आज पोर्चुगल, पाकिस्तान, इजरायल र मलेसियाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई
मंगलबार पनि अन्य राजदूतहरुको सुनुवाई हुने
काठमाडौं । सरकारले सिफारिस गरेका विभिन्न १७ देशका राजदूतहरु मध्य ४ जना प्रस्तावित राजदूतहरुको सुनुवाई सोमबार भएको छ ।
सोमबार र आइतबार गरि ८ जना प्रस्तावित राजदूतहरुको सुनुवाई भएको हो । सोमबार पोर्चुगल, पाकिस्तान, इजरायल र मलेसियाका प्रस्तावित राजदूतहरुको सुनुवाइ भएको हो ।
सोमबार पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणि पौडेल, पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धिताल, मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिमिल्सिना र इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डितको सुनुवाइ भएको छ ।
पोर्चुगलका लागि प्रस्तावित राजदुत पौडेलले नेपालमा पोर्चुगलको भिसा सेन्टर स्थापनाका लागि पहल गर्ने बताएका छन् । भारतबाट पोर्चुगलका लागि भिसा लिनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्दै नेपालमा नै त्यसको व्यवस्था गर्नका लागि आफूले राजदुत भएर गए पहल गर्ने उनको प्रतिवद्धता थियो ।
यस्तै, पाकिस्तानका लागि प्रस्तावित राजदुत धितालले दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलन आयोजनाका लागि आफूले काम गर्ने बताएकी छन् । सन् २०१६ देखि नेपाल अध्यक्ष राष्ट्र रहेको सो सम्मेलन स्थगित हुँदै आएको र त्यसलाई सुचारु गराउने नेपाल सरकारका धारणा अनुसार आफूले त्यसमा पहलकदमी लिने उनको योजना छ ।
यस्तै इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक पण्डितले आफूले कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन् । प्रस्तावित राजदूत पण्डितले सकेसम्म सबै प्रदेशमा इजरायल सरकारको सहकार्यमा कृषि केन्द्र स्थापना गरी नेपालको कृषि क्षेत्रको समुन्नतिमा आफूले काम गर्ने बताए ।
समितिले आइतबार चीनका लागि प्रस्तावित राजदूत कृष्णप्रसाद ओली, भारतका लागि शंकर शर्मा, जर्मनीका लागि डा. शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरको सुनुवाइ गरेको थियो ।
मलेसियाका लागि प्रस्तावित राजदुत तिमिल्सिनाले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने बताएका छन् । राजदूतहरुको सुनुवाइ प्रक्रिया मंगलवार पनि जारी रहनेछ ।
