राजदूतको सुनुवाइ आज पनि हुने
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतको सुनुवाइ आज पनि जारी राख्ने भएको छ ।
समितिको आजको बैठकमा इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतहरुलाई सुनुवाइका लागि बोलाइएको छ । इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि रीता धिताल र पोर्चुगलका लागि प्रकाशमणि पौडेललाई राजदूत नियुक्त गर्न सरकारले सिफारिस गरेको छ ।
समितिमा तिमिल्सिना र पण्डितविरुद्ध उजुरी परेको छ । समितिका सदस्यहरुले उजुरीहरुमाथि प्रश्न गर्ने र उनीहरुको जवाफ तथा कार्ययोजनामा छलफल गर्ने छन् । सरकारले साउन १४ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । तर १७ देशका प्रस्तावित राजदूतहरुको नाम मात्र समितिमा पुगेको छ ।
अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत कान्ता रिजालको नाम समितिमा गएको छैन् । प्राप्त नामावली अनुसार संसदीय सुनुवाइ समितिले आइतबारदेखि सुनुवाइ सुरु गरेको थियो ।
समितिले आइतबार चीनका लागि प्रस्तावित राजदूत कृष्णप्रसाद ओली, भारतका लागि शंकर शर्मा, जर्मनीका लागि डा. शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरको सुनुवाइ गरेको थियो ।
