sevenstartv.com २० वैशाख २०८३, आइतवार

आजका प्रमुख सात समाचार

१६ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं ।

नेपाली कांग्रेस

महामनन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पेस गर्ने सहमतिपछि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा छलफल जारी छ ।

गत साउन २३ गते देखि सुरु बैठकमा महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति नजुट्दा स्थगित भएको थियो । 

आइतबारबाट पुनः सुरु भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री नबन्न आग्रह गरेका छन् । 

महामन्त्री शर्माले अरूलाई प्रधानमन्त्री बनाए सभापतिको त्याग देखिने र समकालीन नेतालाई न्याय र कदर हुने बताएका हुन् । 

महामन्त्री शर्माले प्रधानमन्त्रीमा सभापति देउवाको विकल्पमा नेता शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये कोही एक जनालाई अघि सार्न सक्ने विकल्पसमेत दिएका छन् । 

राजदूत सुनुवाइ

विभिन्न देशका लागि सिफारिस भएको राजदूतहरुको आइतबारदेखि संसदीय सुनुवाइ सुरु भएको छ ।

प्रस्तावित १७ राजदूतको सुनुवाइ ८ दिनमा सम्पन्न गर्ने कार्ययोजनासहित पहिलो दिन ४ जनाको सुनुवाइ भएको छ । 

जसमा चीनका लागि प्रस्तावित राजदूत प्रा.डा. कृष्णप्रसाद ओली, भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मा, डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निामा तुलाधर र डेनमार्कका लागि प्रस्तावित राजदूत डा. शैल रुपाखेतीको सुनुवाइ भएको हो । 

चीनका लागि प्रस्तावित राजदूत ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा आफूले नेपाल सरकारले गरेको सम्झौता निर्णय कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन् । नेपालले उत्तर–दक्षिण कनेक्टिभिटी परिचालन गर्नका लागि ट्रान्स हिमालयन कनेक्टिभिटीमा टेकेर पनि अघि बढ्नसक्ने धारणा राखे ।

राजदुत डा. शर्माले प्रवुद्ध व्यक्तिहरुको समूह (ईपीजी) र सीमाको राजदुत तहमा छलफल गर्ने विषय नभएको बताए । उनले दुई मुलुकबीचको ईपीजी र सीमा समस्याको विषयमा एकपछि अर्को गर्दै समाधान गर्दै जानुपर्ने बताए । 

यस्तै, डेनमार्कका लागि प्रस्तावित राजदुत तुलाधरले सरकारको मार्गदर्शनमा रहेर आफूले कार्य सम्पादन गर्ने बताइन् । उनले डेनमार्क लगायतमा मुलुकहरुमा उच्च शिक्षा कम खर्चमा हुने भएकाले त्यसमा सहजीकरण गर्न पनि आफूले जोड दिने बताइन् ।

जर्मनका लागि प्रस्तावित राजदुत डा.रुपाखेतीले सरकारले स्वास्थ्य कुटनीतिलाई जोड दिएको बताए । रुपाखेतीले संयुक्त राष्ट्र संघको पछिल्लो प्रतिवेदनले पनि स्वास्थ्य कुटनीतिलाई महत्वपूर्ण कुटनीतिको रुपमा उल्लेख गरेको तथ्य पनि स्मरण गराए ।

प्रस्तावित राजदुत रुपाखेतीले जर्मनले नेपाललाई आत्मीय मित्रको रुपमा व्यवहार गर्ने गरेको आफूले पाएकाले यहाँको विकासमा लागि थप सहयोग जुटाउन पनि आफू सफल हुने विश्वास व्यक्त गरे । 

माओवादीको सर्कुलर

नेकपा माओवादी केन्द्रले मातहतका कमिटीहरुलाई सर्कुलर पठाउँदै पार्टी एकताबद्ध रहेको र रहिरहने बताएको छ ।

पार्टी विभाजनतर्फ अघि बढेको टिकाटिप्पणी चलिरहने पनि हालै सम्पन्न स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले सबै कुरा स्पष्ट पारिसकेकाले त्यस्तो कुनै सम्भावना नरहेको माओवादीको दाबी छ ।

स्थायी कमिटी बैठकपछि मातहतका कमिटीलाई पठाएको सर्कुलरलाई अध्यावधिक गरी फेरि पठाएको हो । सर्कुलरमा जनार्दन शर्माले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नरहेको उल्लेख छ । 

स्थायी कमिटी बैठकमा शर्माले अध्यक्षकै वरिपरिका मान्छेले फार्टी फुटाउन लागेको भनेर गलत हल्ला चलाएको लिखित प्रस्तावमार्फत नै गर्नुभएको थियो । 

उहाँले आफू पार्टी फुटको पक्षमा नरहेको बरु पार्टी बनाउन भन्दै नेतृत्वको विकल्पको प्रस्ताव अघि सार्नुभएको थियो । 

सर्कुलरमा माओवादीले पार्टी निर्माणको लागि नीजि स्वार्थ केन्द्रीत गुट, उप–गुटजन्य प्रवृत्तिहरूलाई रहेको स्वीकार गर्दै त्यसलाई निरूत्साहीत गर्दै पार्टीलाई नयाँ उचाईमा एकताबद्द गर्दै लैजानुपर्नेमा जोड दिएको छ ।

गण्डकी सरकार

नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा मिलाउन गण्डकी प्रदेशमा मन्त्रालय फुटाइएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयको संख्या ७ बाट ९ पु¥याइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । संरचना ९ नै भएको र मन्त्रालयमात्र थपिएको उनको भनाइ छ । 

वन तथा वातावरण, उद्योग, पर्यटन र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई टुक्रयाइएको हो छ । प्रदेशमा कांग्रेसले ५ र एमालेले ४ मन्त्रालय लिने गरी सहमति भएको पाण्डेले बताउनुभयो । एमाले १÷२ दिनमै सरकारमा आउने उनको भनाइ छ ।

शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो बन्ने बताउनुभएको छ ।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै चिज बाहिरबाट ल्याउने र त्यसमा पैसा खर्च गर्ने प्रवृत्तिले अर्थतन्त्र बलियो नबनाउने बताए । उनले अहिले कमाईको मुख्य श्रोत नै श्रम किनबेच रहेको बताए । 

उनले श्रम बेचेर कमाई गर्ने र सामान किनेर खर्च गर्नेकुरा स्वाधिनता र सार्वभौम सत्ताका लागि अनुकुल ढाँचा नभएको बताए । 

प्रहरी अवकाश

३० वर्षे सेवा अवधि पूरा गरेका नेपाल प्रहरीका ९० जना प्रहरी अधिकृत अवकाशमा गएका छन् ।

३० वर्षे सेवा अवधि विरुद्ध प्रहरीले अधिकृतहरूले सर्वोच्चमा रिट दायर गरेपनि सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिँदा एकैपटक ठुलो संख्यामा अधिकृतहरू अवकाशमा गएका हुन् । 

भदौ ६ मा न्यायाधीश हरि फुयाँलले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न दिएको आदेश न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीले खारेज गरेका थिए । 

२०५१ भदौ १६ मा प्रहरीमा प्रवेश गरेर अवकाशमा जानेमा डीआईजी विष्णुकुमार केसी र ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) छन् । 

अवकाशमा भएका  एसएसपीहरूमा दिनेशराज मैनाली, बेलबहादुर पाण्डे, रवि पौडेल, जीवन श्रेष्ठ, किसनसिंह थापा, रेवती ढकाल, चन्द्रदेव राई, नवीन राई, रवीन्द्र रेग्मी, दिल्लीराज विष्ट र वीरबहादुर ओली छन् । 

प्रहरी उपरीक्षक (एसपी)हरू अवदेश विष्ट, कृष्ण प्रसाईं र हिराबहादुर पाण्डेसहित अवकाशमा गएका छन् ।

सशस्त्र प्रहरीका डीआईजीहरु अभि खत्री, दुर्गा भट्टराई र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विश्व भट्टराईसहित १८ जना अवकाशमा गएका छन् । १०५ टोलीमा भर्ना भएर उनीहरू सशस्त्रमा गएका थिए । अवकाश हुनेमा १५ जना डीएसपी छन् ।

एन्फा लिग

एन्फा महिला लिगमा कोशी प्रदेश प्रदेशले विजयी सुरुवात गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा कोशीले वालिङ नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गरेको हो । 

कोशीका लागि सञ्जुमाया तामाङले १० औं मिनेटमा, समिक्षा मगरले ५१ र ५९ मिनेट र प्रतिक्षा राईले ६८औं मिनेटमा गोल गरेका थिइन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सुरु लिगमा १० टिमको सहभागिता छ । 

त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, बाग्मती युथ क्लबका साथै वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिकाको टोली लिगको प्रतिष्पर्धी हो । 

लिगमा कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पनि सहभागिता छ । लिगमा कुल ६९ खेल हुनेछन् । 

विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख नगद पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्