कांग्रेस बैठक स् महामन्त्री थापा र शर्माको प्रतिवेदनमाथि जुट्यो सहमति
नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि सहमति जुटाएको छ । शनिबार बसेको शीर्ष नेताहरुबिचको बैठकले महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमाथि सहमति जुटाएको हो ।
बैठकमा विधानले तोकेको मितिभित्र महाधिवेशन गर्ने कुरामा समेत सहमति जुटेको छ । ‘सबै कुरामा सहमति भयो । विधानले तोकेको मितिभित्र महाधिवेशन गर्ने कुरा भयो । पार्टीका विधानसँग सम्बन्धित जति पनि मुद्दाहरू छन्, ती सबैलाई विधान मस्यौदा समितिमा पठाउने बैठकमा सहमति भयो’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिप कृष्णप्रसाद पौडलले भने ।
महामन्त्री गगनकुमार थापाको प्रस्तावमा भने कहीँ कतै पनि गठबन्धनको उल्लेख नगरिएको पौडेलले बताए । आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्ने केही कुरा पनि नआएको उनले बताए । उनले भने, ‘गठबन्धन गर्ने नगर्ने केही कुरा पनि आएन, नेपाली कांग्रेसले बहुमत ल्याउने गरेर संगठनलाई विस्तार गर्ने सहमति भयो ।’
बैठकमा वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरूपनि सहभागी थिए । आइतबार पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ । त्यसअघि प्रतिवेदनमा सहमति जुटाउन सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएका हुन् ।
