आजका प्रमुख सात समाचार
काठमाडौं ।
भ्रष्टाचार हदम्याद
चौतर्फी विरोध भएपछि भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमा उल्लेख पाँच वर्षे हदम्यादको प्रावधानलाई हटाइएको छ ।शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले हदम्यादको प्रावधान हटाउन प्रस्ताव गरेका हुन् । बैठकले सर्वसम्मत रुपमा उक्त प्रावधान हटाएको हो ।
भ्रष्टाचारजन्य कसुरमा पाँच वर्षे हदम्यादबारे सदनदेखि सडकसम्म विरोध हुँदै आएको थियो । समिति सभापति रामहरि खतिवडाले भ्रष्टाचारजन्य कसुरमा पाँच वर्षे हदम्यादसम्बन्धी दफालाई सरकारको प्रस्तावमा सर्वसम्मतिले हटाउने निर्णय गरेको जानकारी दिए । अब विधेयकमा कुनै पनि हदम्यादको कुरा उल्लेख नरहेको उनले बताएका छन् ।
शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कतिपय कुराहरु संशोधन गर्नुपर्ने र आवश्यक परेको समयमा संविधान संशोधन हुने अवस्था रहेको बताएका हुन् । उनले सबैले आवश्यक ठानेको खण्डमा संशोधन हुने स्पष्ट पारे ।
सभापति देउवाले अहिलेको संविधान समावेशी रहेको उल्लेख गर्दै समानुपातिकतालाई अझै राम्रो गर्नेगरी संशोधन गर्ने बताए । उनले निर्वाचनबाट जितेर आउन नसक्नेहरु पनि रहेकाले उनीहरुको समावेशिताका लागि पनि समानुपातिकतालाई अझै राम्रो अध्ययन गरी संशोधन गर्ने बताए । संविधानका आधारभुत कुराहरु संशोधन गर्न नमिले पनि अन्य कुरामा अझ राम्रो गर्नेगरी संशोधन गर्ने बताएका छन् ।
प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई हेपेर नबोल्न नेकपा एमालेलाई चेतावनी दिएका छन् । पार्टीको कर्णाली प्रदेश परामर्श बैठकमा सहभागी हुने सुर्खेत पुग्नुभएका प्रचण्डले अहिले हिंसा शब्द प्रयोग गर्ने कुनै बेला जनयुद्धको नै प्रशंसा गरेको बताएका हुन् । उनले विस्तृत शान्ति सम्झौतादेखि संविधानमा उल्लेख भएका शब्दको मर्मबाहिर जानेगरी अभिव्यक्ति नदिन सचेत समेत गराए । उनले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकार अघि बढे सदन र सडकबाट प्रतिवाद गरिने पनि बताए ।
उनले पछिल्लो समय कसको चाहनामा र कसरी सरकार निर्माण भयो भन्ने हरेक घटनाक्रममा जनता प्रष्ट रहेको उल्लेख गरे । अघिल्लो सरकारले अघि बढाएको भ्रष्टाचारको छानबिनलाई सामसुस पार्ने खेल भइरहेकाले यसविरुद्ध सदन र सडकबाट आवाज घनिभूत गराउने उनको भनाई छ । सरकार पहिलो र दोस्रो दल मिलेको संसारमको संसदीय इतिहास नभएको उल्लेख गर्दै प्रचण्डले गलत कुरालाई चोख्यान गरिएका सबै खालका क्रियाकलापको साक्षी भएर माओवादी नबस्ने बताएका छन् ।
पुलिस अदालत
नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालले दिएको अन्तरिम आदेश खारेज भएको छ ।सर्वोच्चका न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलासले सरकारको भ्याकेट निवेदनमा माग भए अनुसार गत बिहीबार न्यायाधीश फुँयालको एकल इजलासले गरेको अन्तरिम आदेश खारेज गरिदिएको हो । यो आदेश खारेजसँगै नेपाल प्रहरीका नायब महानिरीक्षक ९डीआईजी० विष्णुकुमार केसीसहित ८९ जना एकसाथ अवकाश हुने भएका छन् ।
सबै शुक्रबार नै बिदा हुनेछन् । शनिबार बिदा भएको र आइतबारदेखि ३० वर्षे सेवा हद लाग्ने भएकाले उनीहरूको सेवा अवधि सकिएको हो । प्रहरी ऐनमा तीन प्रावधानले अवकाश हुने व्यवस्था छ । ३० वर्षे सेवा अवधि, उमेर हद रकार्य अवधि मध्ये जुन पहिले आउँछ सोही व्यवस्था अनुसार अनिवार्य अवकाश दिने व्यवस्था छ । सर्वोच्चले १० वर्ष पहिले नै ऐनमै व्यवस्था गर्न र ३० वर्षे हटाउन आदेश दिएको थियो ।
राजेन्द्र, प्रकाशचन्द्र
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देश अभिभावकबिहीन भएको बताएका छन् । पार्टीको केन्द्रिय सल्लाहकार समितिको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली जनताको मत पाएर बनेका ठूला राजनीतिक दलहरु नै अस्थिरताको कारक रहेको बताएका हुन् । उनले कांग्रेस-एमालेको दुई दलीय शासन व्यवस्थाको परिकल्पना सामान्य नरहेको बताए ।
कोशी प्रदेश
नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । माओवादी केन्द्रले दल र संसदको तर्फबाट समर्थन फिर्ता लिएको माओवादी केन्द्रका दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।
२७ वैशाखमा माओवादी केन्द्रको समर्थनमा हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नुभएको थियो । समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयलमा दर्ता गरेको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिनुभयो । नेपाली कांग्रेसले पनि सरकारलाई समर्थन गरेको पत्र दर्ता गरेको उनले बताए ।
निसास्सिएर मृत्यु
नवलपुरको विनयी गाउँपालिका-७ रानीनगरमा निर्माणाधीन सेप्टिक ट्यांकमा निसास्सिएर तीनजनाको निधन भएको छ । ट्वाइलेटको सेप्टिक ट्यांकभित्र काम गर्ने क्रममा सोही घरका घरधनीका छोरा ३८ वर्षीय छोरा प्रकाशसिंह क्षेत्री, छिमेकी १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ७ का २८ वर्षीय मोहम्द राजाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरी रेग्मीले दिएको जानकारी अनुसार, वडा नम्बर ७ स्थित रानीनगर भन्ने ठाउँमा निर्माणाधीन घरको ट्वाइलेटको सेप्टिक ट्यांकभित्र काम गर्न पसेका उनीहरू बेहोस भएका थिए । बेहोस भएपछि अस्पताल लगिएको र अस्पतालले नै मृत घोषणा गरेको उनले बताए । यस्तै, पाँचथरको फालेलुङ गाउँपालिका-५ मा प्राङवुङ विस्फोट हुँदा २ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिलीप साबाका ११ वर्षका छोरा डिक्सन साबा र २ वर्षकी छोरी प्रिन्सा साबा रहेको वडाध्यक्ष भरत खपाङ्गीले बताए । २ जना घाइते भएका छन् ।
