भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद नराख्ने सहमति
काठमाडौं । चौतर्फी विरोध भएपछि भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमा उल्लेख पाँच वर्षे हदम्यादको प्रावधानलाई हटाइएको छ ।
आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले हदम्यादको प्रावधान हटाउन प्रस्ताव गरेका हुन् । बैठकले सर्वसम्मत रुपमा उक्त प्रावधान हटाएको हो ।
भ्रष्टाचारजन्य कसुरमा पाँच वर्षे हदम्यादबारे सदनदेखि सडकसम्म विरोध हुँदै आएको थियो । समिति सभापति रामहरि खतिवडाले भ्रष्टाचारजन्य कसुरमा पाँच वर्षे हदम्यादसम्बन्धी दफालाई सरकारको प्रस्तावमा सर्वसम्मतिले हटाउने निर्णय गरेको जानकारी दिए । अब विधेयकमा कुनै पनि हदम्यादको कुरा उल्लेख नरहेको उनले बताएका छन् ।
