प्रस्तावित राजदूतविरुद्ध उजुरी दिएकासँग आज छलफल
काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिएकाहरूसँग आज छलफल गर्ने भएको छ । बैठक दिउँसो १ बजे शुरु हुनेछ ।
समितिकी सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार भदौ १६ गतेदेखि २५ गतेसम्म बिदाको दिनबाहेक प्रस्तावित राजदूतहरूको सुनुवाइ हुनेछ । विभिन्न देशमा प्रस्तावित राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा नौ वटा उजुरी परेको छ । सुनुवाइ समितिले साउन ३० मा प्रस्तावित १७ राजदूतविरुद्ध १० दिने उजुरी आह्वान गरेको थियो ।
यसअघि साउन १४ गते सरकारले १८ देशमा राजदूत सिफारिस गरेको थियो । अष्ट्रेलियाका लागि सिफारिस कान्ता रिजालबाहेक सुनुवाइका लागि समितिलाई १७ जनाको नाम पठाइएको थियो । संसदीय सुनुवाइ समितिका सदस्यले राजदूत सिफारिस संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशी सिद्धान्तअनुसार नभएको भन्दै सरकारको आलोचना गरेका छन् ।
