आजका प्रमुख सात समाचार
काठमाडौं ।
टीआरसी प्रमाणित
राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणित गरेका छन् ।
संघीय संसदको दुबै सदनबाट पारित भएका विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँग अब ऐन कार्यान्वयनमा जानेछ । ऐन अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोग गठनको बाटो खुलेको छ ।
विधेयकले द्वन्द्वकालीन घटनामा आममाफी हुँदैन भन्ने स्थापित गरेको छ । मानअधिकार उल्लंघनका घटनामा पीडितले स्वतन्त्र सहमति दिए मेलमिलाप हुनसक्छ, तर मानअधिकारको गम्भीर उल्लंघनका घटनामा मेलमिलाप हुने छैन ।
यसैबीच, नेपालको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण भएकोमा अमेरिका, बेलायत लगायत ९ देश र युरोपियन युनियनले स्वागत गरेका छन् ।
अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, जापान, स्विट्जरल्याण्ड, नर्वे, फिनल्याण्ड र युरोपियन युनियनले उक्त विधेयकको स्वागत गर्दै आफूहरु पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पु¥याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने बताएका छन् ।
नेकपा एमाले
सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक भदौ १८ र १९ गते बस्ने भएको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले भदौ १८ र १९ गते पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको हो ।
उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले सदस्यता बिस्तार अभिलेखीकरण र नविकरणको कामलाई प्रभावकारी बनाउनेबारे छलफल गरेको बताए ।
११ जिल्लामा बाँकी अधिवेशनको आयोजना गर्ने र तिनीहरुलाई अझ व्यवस्थित गर्नेबारेमा पनि छलफल भएको छ ।
पार्टी प्रवेश र जिम्मेवारी बिहीन अवस्थामा रहेकालाई तीन महिनाभित्र कमिटीगत जिम्मेवारी दिने निर्णय भएको छ ।
यसैगरी एमालेले केन्द्रमा एउटा स्थायी पार्टी स्कुल र प्रदेशहरुमा सात वटा स्थायी पार्टी स्कुलहरु सञ्चालन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै कम्युनिष्ट पार्टीहरुको एउटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेबारे पनि छलफल भएको छ ।
उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष दिवंगत सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस भदौ २६ गते आयोजना गर्ने निर्णय पनि गरेको छ ।
एआइजी सर्वोच्च
प्रहरी अधिकारीलाई उमेरहद अनुसार अवकाशमा नपठाउन अन्तरिम आदेश माग गर्दै दायर रिटमा सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।
न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले रिट निवेदक प्रहरी अधिकारीले मागे अनुसार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको हो । त्यसैगरी अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ । दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुरले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रमेश लेखकले उपभोक्तालाई चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच प्रदान गर्नेगरी आवश्यक प्रवन्ध मिलाउन निर्देशन दिएका छन् ।
बिहीबार गृहमन्त्रालयमा भएको छलफलमा उनले नागरिकलाई सहज पहुँच बिस्तार गर्नेगरी परिणामुखी व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायहरुसँग आग्रह गरे ।
उनले चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच उपभोक्ताहरुलाई हुनुपर्ने र त्यसको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताए ।
पदम गिरी
नेकपा एमालेका सांसद पदम गिरीले सुन तस्करीको सही ढंगबाट छानबिन नहुँदा नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुले जोगिएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सही ढंगले छानबिन गरेको भए माओवादीका कुनैपनि शीर्ष नेता बाँकी नरहने बताए । सुशासनको ठूला ठूला कुरा गर्ने तर बालुवाटारको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई कारबाही गर्न नसकी उन्मुक्ति दिने काम गरेको बताए । उनले गणतन्त्रपछिका ८ वर्ष उर्जा मन्त्रालयको नेतृत्व माओवादीले नै लिएको भन्दै सो अवधिमा किन वक्यौता नउठाएको भन्दै प्रश्न गरे
देवेन्द्र पौडेल
नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणले राम्रो काम गरेको भन्दै यसमाथि पूर्वाग्रही नहुन सरकारलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले विद्युत प्राधिकरणले लोडसेडिङको अन्त्य गर्दै दैनिक १३ करोड ११ लाख रुपैयाँको विद्युत निर्यात गर्न सफल भएको बताए ।
उनले प्राधिकरणले राम्रो काम गर्दागर्दै वर्तमान सरकारले निरन्तर टोकेको भन्दै के गर्न खोज्नुभएको हो ? भनि प्रश्न गरे ।
शेयर बजार
धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३६ दशमलव ८३ अंकले घटेर बन्द भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार नेप्से परिसूचक २७४९ दशमलव ५७ विन्दुमा बन्द भएको हो ।
आज १२ अर्ब २४ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यसदिन ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेको छ ।
