प्रतिनिधिसभाकाे बैठक आज पनि बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा सांसद्ले शून्य, आकस्मिक र विशेष समयमा समसामयिक विषयमा आआफ्नो धारणा राख्नेछन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८०’ पेस गर्ने कार्यसूची रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनियता बढाउन आवश्यक भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
सभामुख देवराज घिमिरेले तत्कालीन संविधानसभा सदस्य श्रवण कुमार अग्रवालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । अग्रवालको गत साउन २१ गते निधन भएको थियो । उनी जनता समाजवादी पार्टी, नेपालका तर्फबाट २०६४ /२०७० सालको संविधानसभा निर्वाचनको समानुपातिक सांसद थिए ।
