sevenstartv.com १९ वैशाख २०८३, शनिवार

आजका प्रमुख सात समाचार

१२ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं ।

वायु सेवा निगम

नेपाल वायुसेवा निगमका तीन वटा जहाज ग्राउण्डेड हुँदा दुई दिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । निगमको न्यारोबडी मंगलवार ‘ग्राउण्डेड’ हुँदा काठमाडौं, हङकङ, दोहा र दुबईमा ८ सय हाराहारी यात्रु प्रभावित भएका छन् ।

निगमको न्यारोबडी जहाजमा हाइड्रोलिकमा आएको समस्याका कारण सबै उडानहरु रद्ध हुँदा यात्रुहरु प्रभावित बन्न पुगेका हुन् । अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग रहेका ४ जहाजमध्ये ३ जहाज ‘ग्राउण्डेड’ भएका छन् । न्यारोबडी ‘सगरमाथा’मा हाइड्रोलिकमा समस्या देखिसँगै नागरिक उड्डयन प्राधिकरणले जहाज ग्राउण्डेड गराएको थियो । 

न्यारोबडी ‘सगरमाथा’मार्फत १५६ यात्रु लिएर काठमाडौंबाट हङकङ उड्ने जहाज ग्राउण्डेड भएपछि यात्रुहरुलाई दिनभर ¥याडिसनको लाउन्जमा राखेर अन्य विदेशी वायुसेवाको टिकट किनेरै गन्तव्यमा पठाउने प्रबन्ध मिलाएको निगमका प्रवक्ता रमेश पौडेलले बताउनुभयो । 

प्रहरी अदालतमा

उमेर हदका कारण अवकाश हुने विद्यमान व्यवस्थाविरुद्ध अन्तरिम आदेशको माग गर्दै नेपाल प्रहरीका एआईजीसमेतका उच्च अधिकृतहरु सर्वोच्च अदालत पुगेका छन् ।

एआईजी श्याम ज्ञवाली तथा डीआईजीहरु केदार ढकाल, राजेशनाथ बास्तोला र यज्ञविनोद पोखरेलले निवेदन दिएका हुन् । ज्ञवाली एआईजी सेवा प्रवेश गरेको २९ वर्ष ५ महिना २२ दिन, ढकाल २९ वर्ष ८ महिना ७ दिन, बास्तोला २८ वर्ष ११ महिना १४ दिन र पोखरेल २८ वर्ष १० महिना १७ दिनमा अवकाश पाउँदैछन् । उनीहरु उमेर हदका कारण अवकाश पाउन लाग्नुभएको छ । 

ज्ञवालीले उमेर हदका कारण आगामी भदौ २६, ढकालले मंसिर १२, बास्तोलाले कात्तिक ११ र पोखरेलले असोज १४ गते अवकाश पाउँदैछन् । नेपाल प्रहरीमा एआईजी र डीआईजीको उमेर हद ५६ वर्ष छ । हालै ३० वर्षे सेवा अवधिविरुद्ध अवकाश हुने व्यवस्थाविरुद्ध अन्तरिम आदेश जारी भएपछि उमेर हदका विषयमा पनि प्रहरी अधिकृतहरु सर्वोच्च पुगेका हुन् ।

संसदमा भनाभन

संसदमा बुधबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुबीच भनाभन भयो । एमाले सचिव समेत रहेका सांसद योगेश भट्टराईले माओवादीको १० वर्षे हिंसा भनेपछि वातावरण अशान्त भएको थियो । भट्टराईको बचकना र माओवादी सांसदहरुको जिद्दीले केही समय वातावरण अशान्त बनेको थियो ।

हितराज पाण्डे

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भ्रष्टाचारजस्तो कसुरमा कारबाहीका लागि हदम्याद राख्न नहुने अडान राखेका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको कसुरमा हदम्याद राखिएको आपत्ति जनाएका हुन् । प्रमुख सचेतक पाण्डेले भ्रष्टाचार रोक्नका लागि सरकारले व्यवहारबाटै काम गरेर देखाउनुपर्ने बताए ।

उनले कडा कानून बनाएर भ्रष्टहरुलाई कारबाही गर्न पनि सरकारलाई दबाब दिए । प्रमुख सचेतक पाण्डेले जनताले अनुभुति हुनेगरी सरकारले सुशासनको पक्षमा काम गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् । 

कांग्रेस डिना

सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले नेपाली कांग्रेसले महिलाको आवाजलाई सम्बोधन गरेकै कारण नेपालको संविधान महिलाको पक्षमा बनेको बताएकी छन् । नेपाल महिला संघ ललितपुरद्वारा हरितालिका तिजको अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिदै उनले यस्तो बताएकी हुन् ।

कांग्रेसका पदधिकारीहरुले प्रोत्साहन गरेकै कारण नेपालको संविधानमा प्रमुख उपप्रमुख राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख  जस्ता कार्यकारी पदहरूमा महिलाको सहभागिता र स्थानीय तहमा  ५० प्रतिशत बनाउनै पर्छ भनेर कांग्रेसले नै लेख्न दबाब दिएको उनको दाबी छ । 

कानुनमा लेखिए पनि महिलाहरूले भनेको जस्तो विषयहरू कार्यान्वयनमा नभएको उल्लेख गर्दै उहाँले संविधानमा उल्लेख भएको विषयवस्तु कहाँ गएर रोकिएको छ भनेर बुझन जरुरी रहेको बताएकी छन् । 

शेयरबजार

नयाँ सरकारपछि कारोबार बढेको सेयर बजारमा पछिल्लो केही दिनयता भने घट्दै गएको छ । मंगलबार १८ अर्ब ६४ करोड ९५ लाख बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार भने जम्मा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार बराबरको कारोबार भएको हो । 

बुधबार दिनभर उतारचढाव भएर नेप्से अन्तिम समयमा ३.८० अंकले बढेर २७८६.४० अंकमा पुगेको छ । बुधबारको शेयर कारोबारमा ९७ वटा कम्पनीको मूल्य बढ्यो भने १४३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । त्यस्तै, ४ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएन । बुधबार नेप्सेको सेन्सेटिभ इन्डेक्स १.६८ र फलेट इन्डेक्स ०.२१ अंकले बढ्यो भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०४ अंकले घटेको छ ।

ट्रम्प

सन् २०२० को निर्वाचनमा हस्तक्षेप गर्न खोजेको विषयमा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध नयाँ अभियोगसहित मुद्दा दायर भएको छ । मतपरिणाम प्रभावित पार्न खोजेको आरोप खेपिरहेका ट्रम्पलाई अमेरिकी सर्वोच्च अदालतले गत महिना राष्ट्रपतिहरूले आफ्नो पदीय हैसियतमा गर्ने कामकारबाहीमा उन्मुक्ति पाउने आदेश दिएको थियो ।

तर अभियोजनकर्ताहरूले ट्रम्पविरुद्ध संशोधित अभियोगपत्रसहित फेरि मुद्दा दायर गरेका हुन् । संशोधित अभियोगपत्रमा पनि यसअघिकै चारवटा आपराधिक अभियोग उल्लेख छन् । तर अहिले भने ट्रम्पलाई पदासीन राष्ट्रपति नभई उम्मेदवारका रूपमा मात्र प्रस्तुत गरिएको बताइएको छ । 

अमेरिकी न्याय मन्त्रालयका विशेष अभियोजनकर्ता ज्याक स्मिथले ट्रम्पविरुद्ध लगाइएका चार अभियोगमा अमेरिकालाई धोका दिने षड्यन्त्र गरेको, सरकारी प्रक्रियामा अवरोधको षड्यन्त्र गरेको, सरकारी प्रक्रिया अवरोध गर्ने प्रयास गरेको र अधिकारविरुद्ध षड्यन्त्र गरेको आरोप लगाइएको छ । ट्रम्पले भने २०२० को निर्वाचनमा हस्तक्षेप गरेको आरोप अस्वीकार गर्दै आएका छन् ।

साफ यू-२०

नेपाललाई ४-१ को हार चखाउँदै बङ्गलादेश पहिलो पटक साफ अण्डर ट्वान्टी च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ । सातदोबाटोस्थिति एन्फा खेल मैदानमा भएको खेलमा बङ्गलादेशको जितमा मिराजुल इस्लाम नायक बने । उनले दुई गोल गर्दा तेस्रो गोलको लागि असिस्ट पनि दिए । पहिलो हाफमा नेपालले बङ्गलादेशलाई गोल गर्ने केही मौका पाएको थियो । 

खेलको नवौँ मिनेटमा निराजन धामीले करिव ३० यार्डबाट हानेको पावरफुल प्रहारलाई गोल किपर मोगम्मद आशीफले मुस्किलले बचाए । यसको चार मिनेटपछि पनि मराजनले हानेको लङ रेन्ज प्रहारमा किपर बाधक बने । २१ औं मिनेटमा नेपाल फेरि चुक्यो । निराजन धामीले दिएको उत्कृष्ट क्रसमा अविनाश श्याङतानले बलसँग कनेक्ट गर्न सकेनन् । बङ्गलादेशले पनि २३ औं मिनेटमा गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन । खेलको पहिलो हाफको इन्जुरी समयमा मिराजुल इस्लामले पेनाल्टी बक्सको एजबाट हानेको फ्रि किक प्रहार टप कर्नरमा सुन्दर गोलमा परिणत भयो । 

पहिलो हाफमा नेपाल विरूद्ध बङ्गलादेश एक शून्यले अगाडि बढ्यो । दोस्रो हाफमा नेपाल खेलमा फर्कन सकेन । ५५ औं मिनेटमा असदुल इस्लाम सकिवको क्रसमा असदुलको ड्रप हेडरपछि मिराजुल इस्लामले गोल गरे । निरिह नेपाल विरूद्ध बङ्गलादेशले ७१ औं मिनेटमा तेस्रो गोल थप्यो । मिराजुल इस्लामको क्रसमा मोहम्मद राब्बी होसेनले गोल गरे । तीन शून्यले पछि परेको नेपालले ८० औं मिनेटमा एक गोल फर्कायो । राम थापाको पासमा समिर तामाङले हेडर गोल गरे । निर्धारित ९० मिनेट ३-१ को नतिजामा सकियो । 

दश मिनेट थपिएको समयमा बङ्गलादेशले अर्को गोल थप्यो । मोहम्मद राब्बीकोको पासमा मोहम्मद पियास अहमदले गोल गरे । योसँगै बङ्गलादेशले सानदार शैलीमा नेपाललाई ४-१ ले हराउँदै उपाधि उचाल्यो । अपराजित रहँदै फाइनलमा पुगेको नेपालले आज निकै कमजोर प्रदर्शन गर्‍यो । दुई पटकको विजेता नेपाल तेस्रो पटक फाइनलमा पुगेको थियो । तर नेपालको उपाधिमा ह्याट्रिक गर्ने योजना पूरा हुन सकेन । यसअघि तीन पटक उपविजेता बनेको बङ्गलादेशले पहिलो पटक उपाधि जितेको हो ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्