आजका प्रमुख सात समाचार
काठमाडौं ।
नेकपा एस
अधिवेशनले पधाधिकारी चुन्न नसकेपछि नेकपा (एकीकृत समाजवादी) चुनावमा होमिएको छ ।
आन्तरिक खिचातानी र नेताहरुले आफ्ना निकटका नेता कार्यकर्तालाई च्याप्न खोजेपछि एकीकृत समाजवादी अनिर्णित बनेको थियो । १८ पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न मंगलबार चुनाव गरेको हो ।
केन्द्रिय कमिटी बैठकमा सहमतिको प्रयास सफल नभएपछि निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको थियो ।
पार्टी निर्माणको छोटो समयमा नेता कार्यकर्तामा पदलोलुपता देखिएको टिप्पणी हुँदै आएको छ । तर एकीकृत समाजवादिका नेताहरु लोकतान्त्रिक विधि सबैले मान्नुपर्ने तर्क गर्छन् । पार्टीमा नेतृत्व गर्ने चुनिएर आउनु राम्रो भएको उनीहरुको भनाइ छ ।
एकीकृत समाजवादीले २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेलाई निर्विरोध निर्वाचित गराएको छ । अब सात उपाध्यक्ष, चार उपमहासचिव, सात सचिव र ८४ पोलिटब्युरो सदस्य निर्वाचनबाट चयन हुनेछन् ।
प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर रहेको आरोप लगाएका छन् ।
करिव दुई महिनाको सरकारको कार्यकालले आफूलाई सरकार अहंकारपूर्ण गलत बाटोमा अग्रसर भएको निष्कर्षमा पु¥याएको अध्यक्ष दाहालको भनाई थियो । मंगलवार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले सरकार माफियाहरुको सेवामा अग्रसर रहेको गम्भिर आरोप समेत लगाए । सरकार जनताभन्दा स्वार्थ समूहरुको अझ माफियाहरुको सेवामा अग्रसर भएकाले आफूले त्यसको खबरदारीका लागि संसदमा सम्बोधन गर्नुपरेको पनि अध्यक्ष दाहालको जिकिर थियो ।
यस्तै अध्यक्ष दाहालले नेपाल विद्युत प्राधिकरणमाथि सरकारले चालेको कदम तत्काल सच्चिनुपर्ने बताए । उनले भूटानी शरणार्थी काण्डमा छानविन गरिरहेको इमान्दार प्रहरी अधिकृतलाई सरकारले दण्डित गरेको भन्दै आपत्ति समेत जनाए । अध्यक्ष दाहालले गिरिबन्धुमा गरिएको नीतिगत भ्रष्टाचार नदोहो¥याउन र त्रिभुवन विश्वविद्यालयको मेरिटोक्रेसी नमिच्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिए ।
महेश बर्तौला
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिबाट सन्यास लिएको घोषणा गर्नुभएको टिप्पणी गरेका छन्
संसद भवनबाहिर बोल्दै उहाँले संसदमा अध्यक्ष दाहालले माओवादी केन्द्र र आफू कुनैपनि सत्ताको खेलमा नलाग्ने घोषणा गर्नु नै राजनीतिबाट पराजय स्वीकार गर्नु सरह रहेको उल्लेख गरे ।
उनले सत्ताको खेलमा कहिल्यै नलाग्ने उद्घोष गर्नु नै एकप्रकारको सन्यासको घोषणा रहेको बताए ।
उनले सामान्य संवैधानिक प्रावधानलाई पनि ख्याल नगरी अध्यक्ष दाहालले प्रमुख प्रतिपक्षको संसदीय दलको नेताको भुमिकाबारे प्रश्न कुण्ठा व्यक्त गरेको बताए ।
उनले प्रमुख प्रतिपक्षको दलको नेताको भुमिकाबाट पनि छिटै नै जनताले हटाउने भन्दै अब धेरै समय कुर्नुनपर्ने बताए ।
प्रमुख सचेतक बर्तौलाले पूर्वप्रधानमन्त्रीले आफ्नो जिम्मेवारी बिर्सिएर संसदमा कुण्ठा व्यक्त गरेकोे बताए ।
नेपाली कांग्रेस
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावले विवाद भएपछि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक फेरि सारिएको छ ।
बुधबार बस्ने तय भएको बैठक भदौ १६ गते आइतबार दिउँसो २ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति खोज्न सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर छलफल गर्नुभएको थियो ।
महामन्त्री थापाको चुनावी गठबन्धन नगर्ने र शर्माको ‘एक्जिट पोलिसी’ प्रस्तावमाथि संस्थापन पक्षको चर्को विरोध छ ।
आरजु राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच द्विपक्षीय वार्ता भएको छ ।
काठमाडौंको होटल सोल्टीमा भएको वार्तामा दुई देशबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जानकारी दिइन् । श्रमको विषयमा सम्झौताको तयारी भएको पनि जानकारी दिइन् ।
ओमान पक्षले पनि नेपाली श्रमिकहरु आवश्यकताका आधारमा लैजान इच्छुक रहेको र दुई देशबीच यसै वर्ष (२०२४) श्रम सम्झौता गरिने सहमति भएको पनि परराष्ट्रमन्त्रीले जानकारी दिइन् ।
परराष्ट्र मन्त्री डा. राणाले नेपालको पर्यटन क्षेत्रमा पनि ओमान सरकारले लगानी गर्न इच्छा देखाएको बताइन् ।
वार्तामा आफूले नेपालको प्राकृतिक सौन्दर्य, नेपालमा सगरमाथा लगायतका विश्वका आठ हजार भन्दा अग्ला हिमालहरु एवं विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरुका कारण पनि नेपालमा लागनी गर्न उपयुक्त हुने बताएको जानकारी दिइन् ।
ओमानका विदेशमन्त्री हमादले मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गरेका थिए ।
रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ ।
आज बिहान बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो । यसअघि रास्वपाले ढकाललाई साधारण सदस्यबाट किन नहटाउने भनेर दुईपटक स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो । ढकालले भने दुईपटक नै स्पष्टीकरणको जवाफ दिँदा सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न उठाएका थिए । गत असार २५ गते बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाइ सकेको थियो ।
यता (रास्वपा)ले साधारण सदस्यबाट पनि हटाएपछि संस्थापक महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेमाथि अर्को आक्रोश पोख्दै आफूलाई रविको क्लबबाट मात्र निष्कासित भएको दोहोर्याउँदै पार्टीबाट निष्कासन गर्ने अधिकार क्लबलाई नभएको बताएका हुन् ।
साफ यु-२०
बुधबार नेपालले घरेलु मैदानमा २० वर्षमुनिको साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग खेल्दैछ ।
बंगलादेशलाई हराउँदै लामो समयदेखिको उपाधि खडेरी तोड्ने नेपालको लक्ष्य छ । दक्षिण एशियाली फुटबलमा विभिन्न उमेरसमूहका पछिल्ला पाँच प्रतियोगितामा नेपाल दुई पटकको च्याम्पियन टोली हो ।
नेपालले सन् २०१५ मा भएको पहिलो उमेरसमूहको प्रतियोगिता (यु–१९) र सन् २०१७ को यु–१८ साफको उपाधि जितेको थियो ।
तीबाहेक अन्य तीन प्रतियोगितामा भने नेपाल फाइनलमा नै पुग्न असफल रह्यो । तर यसपटक घरेलु मैदानमा जारी यु–२० साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा पुग्दा तेस्रो उपाधि जित्ने लक्ष्यमा छ ।
यो उपाधि जित्दै कुशल देउवाको कप्तानीमा रहेको नेपाली युवा टोली ६ वर्षदेखिको प्रतीक्षामा सफलता प्राप्त गर्न चाहन्छ । साफमा दबदबा बनाउँदै आएको भारतबिना पहिलोपटक फाइनल हुँदैछ । यसको फाइदा लिने लक्ष्यमा नेपाल हुनेछ ।
त्यसका लागि नेपालले सन्तुलित फुटबल खेल्दै आएको बंगलादेशको चुनौती पार गर्नुपर्नेछ । यसै प्रतियोगिताको समूहमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो । सोही नतिजाले नेपाली खेलाडीका लागि आत्मबल प्राप्त हुनेछ ।
