काठमाडौंमा ओमानको राजदूतावास स्थापना गर्न विदेशमन्त्री अल्बुसाइदीलाई राष्ट्रपति पौडेलको सुझाव
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदीले शिष्टचार भेट गरेका छन् । राष्ट्रपति पौडेलसँग दुई दिने नेपाल भ्रमणमा ओमानी प्रतिमण्डलको नेतृत्व गर्दै आएका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदीले राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भेट गरेकान हुन् ।
भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नती भएर सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने र सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएको बताउदै यसका लागि नेपाललाई ओमन सरकारको सर्वभौम कोषलगायत अन्य मित्र राष्ट्रबाट सहयोगको अपेक्षा गरेको उल्लेख गरे ।
नेपाल र ओमानको परराष्ट्र नीतिमा धेरै समानता रहेको उल्लेख गर्दै पौडेलले दुई देशबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने राम्रो संभावना विद्यमान रहेको बताएका छन् । राष्ट्रपति पौडेलले ओमानमा काम गर्ने नेपालीहरूको संख्या बढ्दै गएको अवस्थामा काठमाडौंमा ओमानको राजदूतावास स्थापना गर्दा दुवै देशका लागि उपयुक्त हुने उल्लेख गरे । उनले दुई देशबीचको प्रत्यक्ष हवाई सम्पर्कले व्यापार सहजीकरण, पर्यटन प्रवद्र्धन र जनस्तरमा सम्बन्ध बढाउनका लागि मद्धत मिल्ने औंल्याएका छन् ।
भेटमा ओमनका विदेशमन्त्री सैयदले भ्रमणका क्रममा नेपाल सरकारसँग दुई पक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको जानकारी गराउँदै ओमानले खुल्ला ह्दयले नेपालसंग सम्बन्धलाई थप सुमधुर बनाउन चाहेको बताए । सैयदले नेपालमा ओमानको दूतावास खोल्ने र दुई देशबीच सिधा हवाई सम्पर्क स्थापित गर्ने सन्दर्भमा आफ्नो सरकार सकारात्मक रहेको उल्लेख गर्दै शान्त, सौम्य र कडा परिश्रम गर्ने ओमानमा रहेका नेपालीहरूले ओमानको विकासमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरेको बताएका छन् ।
