sevenstartv.com १९ वैशाख २०८३, शनिवार

परराष्ट्र मन्त्री राणा र ओमानका विदेशमन्त्री अल्बुसाइदीबीच द्विपक्षीय वार्ता

११ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सइद बिन हमाद हमुद अल्बुसाइदीबीच द्विपक्षीय वार्ता भएको छ । परराष्ट्रमन्त्री  राणाको निमन्त्रणामा सोमबार नेपाल आएका अल्बुसाइदी र परराष्ट्रमन्त्रीबीच मंगलबार द्विपक्षीय छलफल भएको हो । 

छलफलमा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालले हवाई कनेक्टिभिटी, श्रमसम्बन्धी विषयहरू, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको छ । 

वार्तामा नेपाल तर्फबाट मन्त्री राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याललगायतका अधिकारीहरू र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरू सहभागी थिए । वार्तामा परराष्ट्रमन्त्री राणाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू भैरहवा र पोखरा विमानस्थलमा हवाई उडान सञ्चालनका लागि ओमानसँग आग्रह गरिन् ।

ओमानले भैरहवामा हवाई उडान सुरु गरेको र पछि बन्द गरेको भए पनि हाल नेपाल सरकारले विदेशी एयरलाइन्सहरुलाई थप सुविधा उपलब्ध गराउने निर्णय गरेकाले पुनः उडान सञ्चालनका लागि आग्रह गरेको जनाइएको छ । यस विषयमा ओमानका विदेशमन्त्री बुसाइदीले पुनः विचार गर्ने प्रतिबद्धता जनाएका छन् ।

छलफलमा मन्त्री राणाले नेपालमा जलविद्युत लगायतका कैयौँ क्षेत्रमा लगानीका धेरै सम्भावना रहेकाले नेपालमा लगानीका लागि पनि विदेशमन्त्री मार्फत् ओमान सरकार त्यहाँका लगानीकर्ताहरूलाई आग्रह गरिन् ।  सो वार्तापछि मन्त्री राणाले पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाल र ओमानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको बताइन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्