आजका प्रमुख सात समाचार
काठमाडौं ।
प्रधानमन्त्री ओलीको धारणा
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीले ईपिजीको प्रतिवेदन नबुझेको भन्दै प्रतिवेदन बुझ्नु राम्रो हुने बताएका छन् ।
सोमबार राष्ट्रिय प्रजातन्त्र नेपालका अध्यक्ष कमल थापाद्वारा लिखित पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफूले कुरा गरेरै ईपिजी बनाएको भएपनि भारतीय प्रधानमन्त्रीले प्रतिवेदन नबुझेको बताए ।
प्रधानमन्त्री ओलीले ईपिजीले भारतीय प्रधानमन्त्रीले बुझेपछि नेपालको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको कारण भारतीय प्रधानमन्त्रीले नबुझिकन आफूले बुझ्न नपाएको उल्लेख गरे । उनले आफुहरुले प्रतिवेदन बुझ्न र प्रतिवेदनमा उल्लेखित विषयहरुमाथि छलफल गर्न आग्रह गरिरहेको बताए ।
प्रधानमन्त्री ओलीले सन् १९५० को सन्धी लगायतका कुराहरुको पुनःमूल्यांकन हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले छिमेकी देशहरुसँग राष्ट्रिय हितको पक्षमा खुलस्त कुरा गर्नुपर्ने बताए । उनले छिमेकी देशहरुसँग एकको विरुद्ध अर्को कार्ड नखेलिने स्पष्ट पारे ।
देउवा बोल्दाबोल्दैं यूवाले रोकेपछि
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व बिथोल्नेहरुलाई कारबाही गर्न आग्रह गरेका छन् । सोमबार काठमाडौंमा आयोजित गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेताहरु गौरा पर्व मनाउन पुग्दा केही युवाहरुले नेताहरुको बिरोधमा नाराजुलुस गरेका थिए ।
सोही विषयमा उनले काठमाडौंमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरुलाई काठमाडौंवासीले ठिक पार्नुपर्ने बताए । उनले बिरोध गर्नेहरु पछाडि कसको हात छ र कुन तत्व त्यसको पहिचान गरी कारबाही गर्नुपर्ने बताए ।
उनले नेपाली समाजमा नैतिकता हराउँदै गएको जिकिर समेत गरे । सभपति देउवाले गौरा लगायतका चाडपर्वहरुले नेपालीहरुलाई एकतामा बाँध्ने विश्वास व्यक्त गरेका छन् ।
नेकपा एस
नेकपा एकीकृत समाजवादीले १८ पदाधिकारी चयनका लागि निर्वाचन गर्ने भएको छ । सोमबारसम्म सहमतिको प्रयास गरिएपनि सफल नभएपछि निर्वाचन तालिका सार्वजनिक गरिएको हो । अब पदाधिकारी र पोलिटब्युरो सदस्य चुनावबाट निर्वाचित छानिनेछन् । तालिका अनुसार मंगलबार दिउँसो २ बजेदेखि ५ बजेमसम्म मतदान हुनेछ ।
मंगलबार नै मतगणना थालिने जनाइएको छ । एकीकृत समाजवादीमा अध्यक्ष र महासचिव सर्वसम्मत भएको डेढ महिनापछि अरू पदाधिकारीका लागि चुनाव हुन लागेको हो । गएको असार २० गते महाधिवेशनको हलबाट अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत हुनुभएको थियो । सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएका थिए । एकीकृत समाजवादीमा २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्न बाँकी छ ।
धादिङ पहिरो
धादिङको गजुरी गाउँपालिका ३, मा पर्ने बेल्खुमा ठूलो पहिरो खस्दा काठमाडौं आउजाउ गर्ने मुख्य राजमार्ग पूर्णरुपमा बन्द भएको छ ।आज दिउँसो करिब पाँच बजेको समयमा खसेको पहिरोले काठमाडौं भित्रिने बाटो पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार प्रहरी, डिभिजन सडकका कर्मचारीसहितको टोलीले केही बेरअघिलेखि पहिरो पन्छाउन सुरु गरिएको छ । यद्यपि पानी परिरहेको कारण पहिरो पन्छाउन केही समस्या भने भइरहेको छ ।।
प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार मुलकमा सही कुरालाई अघि बढाउने संकल्पका साथ बनेको बताएका छन् । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्घाटन गर्दै उनले अपराध हुनै नदिने कुरामा ध्यान दिन पनि नेपाल प्रहरीलाई निर्देशन दिए ।
अपराध कसैले गराउन खोजेको छ भने त्यसलाई पहिले नै पत्ता लगाउने र नियन्त्रण गर्नेगरी नेपाल प्रहरीलाई काम गर्न सचेत गराउँदै प्रधानमन्त्री ओलीले त्यस काममा सरकारले कुनैपनि खालको हस्तक्षेप नगर्ने बताएका छन् । उनले अपराध गर्नेहरुलाई पहिलेनै सचेत बनाउने गरी अभियान चलाउन सकिए समाजमा अपराधिक घटना हुन नपाउने उल्लेख गर्दै त्यस अभियानमा प्रहरीले चनाखो भएर अघि बढ्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले संविधान र कानूनले मार्ग निर्देश गरेअनुसार चल्न पनि प्रहरीहरुलाई आग्रह गरे ।
वर्तमान सरकारले फलानोलाई फसाउ भन्ने आदेश प्रहरीलाई नदिने भन्दै प्रधानमन्त्री ओलीले ढुक्कका साथ आफ्नो कामालई अघि बढाउन पनि प्रहरीको ध्यानाकर्षण गराएका छन् । राज्यको शक्ति दूरुपयोग गरेर निर्दोषलाई दोषी करार गर्ने काम भनेको अपराधिक क्रियाकलाप भएकाले राज्यको तर्फबाट निर्दोषलाई दोषी करार गर्ने काम हुनै नसक्ने प्रधानमन्त्री ओलीले बताए ।
राष्ट्रपति दर्शन
राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् । सोमबार अपरान्ह राष्ट्रपति पौडेलले पाटनस्थित कृष्ण मन्दिरको दर्शन गर्नुभएको हो ।
सो अवसरमा उनले कृष्ण मन्दिरभित्र भगवान श्रीकृष्णको पूजा आराधना र प्रसाद ग्रहणसमेत गरे । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लाग्ने गर्छ । हिन्दु धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रूपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ ।
किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान श्रीकृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमीनमुनि कृष्णको मन्दिर फेला परेको थियो । त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको हो ।
साफ च्याम्पियनशिप
साविक विजेता भारतलाई हराउँदै बंगलादेश साफ यु-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सोमबार भएको दोस्रो पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै बंगालादेशले नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो सेमिफाइनलको निर्धारित समय १–१ को बराबरी पछि टाइब्रेकरमा बंगलादेशले बाजी मारेको हो । बंगालादेशका गोलकिपरले भारतका २ खेलाडीको पेनाल्टी रोक्दै टोलीलाई अन्तिम दुईमा पुर्याएका हुन् । पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा बंगलादेशले हितका लागि पेनाल्टी सुटआउटसम्म कुर्नु परेको थियो ।
दोस्रो हाफमा गोल गर्दै खेलमा फर्के पनि पेनाल्टी सुटआउटमा दुई खेलाडी असफल भएसँगै भारत उपाधि रक्षा गर्नबाट चुकेको छ । नेपाल र बंगलादेशबीचको फाइनल बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
