sevenstartv.com १९ वैशाख २०८३, शनिवार

आजका प्रमुख सात समाचार : संसदीय समितिमा चर्काचर्कीदेखि नेपाल फाइनलमा

९ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । 

संसदीय समितिमा चर्काचर्की
सार्वजनिक लेखा समितिमा डेडिकेडेट ट्रंकलाइन विवादमा निर्णय गर्ने विषयमा सवालजवाफ भएको छ । 

आइतबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा समिति सभापति र सांसदहरुबीच चर्काचर्की भएको हो । समिति सभापति ऋषिकेश पोखरेलले समितिले गर्ने निर्णय सुनाउन थालेपछि विवाद शुरु भयो । सभापति पोखरेलले समितिको बैठकका ५ वटा निर्णय सुनाउन प्रश्ताव राखेका थिए । उक्त निर्णयमा सत्तापक्ष नेपाली काँग्रेसका सांसदहरुले नै साथ दिएनन् । यता नेकपा (माओवादी केन्द्र) र रास्वपाका सांसदहरूले सभापतिका ५ वटा निर्णयमा असहमति जनाएका थिए । दुवै पार्टीका सांसदहरुले सभापतिको प्रश्तावलाई अस्वीकार गर्ने भनेपछि सभापति पोखरेल, माओवादी र रास्वपाका सांसदबीच चर्काचर्की परेको थियो । 

सभापति पोखरेलले तत्कालिन समयमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिने निर्णय हुने बताए । उनले समितिले पाँच वटा निर्णय गर्ने र उजुरीको विषयमा समितिमा छलफल गर्ने प्रश्ताव राख्खे । तर, सांसदहरुले अहिले समितिले डेडिकेडेट र ट्रंकलाइनको २१ अर्ब ८८ करोड वक्यौता उठाउने भन्न निर्देशन मात्रै दिनुपर्ने माग गरे । तर, सभापति पोखरेलले ५ वटा निर्णय भएको र उजुरीको विषयमा अर्को बैठकमा छलफल गर्ने भन्दै अर्को सूचना नआएसम्म बैठक स्थिगित भएको घोषणा गरे । 

तर, नेकपा माओवादीका सांसद राजन दाहाल र अमनलाल मोदीले निर्णय नमान्ने भन्दै सभापति पोखरेलको चर्को विरोध गरे । अन्य केही सांसदले समेत महशुल वक्यौता उठाउने निर्देशनमात्र दिन आग्रह गरेपछि बैठकमा होहल्ला र विवाद भयो । माओवादी सांसद दाहालले महशुल उठाउने विषय बाहेक अन्य निर्णयहरु बदनियतपूर्ण रुपमा आएको बताए । सभापति पोखरेलले सांसदहरुलाई बैठक सकिएको जानकारी गराए । तर सांसदहरु एउटा निर्णय बाहेक अन्य निर्णयहरुमा सहमति नभएको भन्दै विरोध गरे । सांसदहरुले समितिको निर्णय नभएर सभापतिको मात्रै निर्णय भएको बताए । सभापतिले निर्णय गर्ने अधिकार नभएको बताए । माओवादी सांसदहरुले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई अख्तियार पठाउने र विचौलीयाहरुसँग मिल्ने गरी सभापतिले निर्णय गरेको भन्दै बिरोध गरे । विवादकाबीच पाँच घण्टा लामो छलफलपछि समिति बैठक बिना निष्कर्ष टुंगिएको छ ।

माधव नेपालको धारणा 
प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुको सहभागिता बिना संविधान संशोधन गर्ने सम्भावना नरहेको बताएका छन् । 

सत्तारुढ कांग्रेस र एमाले अपारदर्शी ढंगले सो प्रश्ताव ल्याएको जिकिर गर्दै अध्यक्ष नेपालले त्यसमा आफूहरुको सहभागिताविना सम्भव नरहेको दाबी गरे । आइतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रिय सदस्यहरुको सपथग्रहण समारोहमा बोल्दै उनले सरकारमा सहभागी नभएका दलहरुको संख्याले संविधान संशोधन गर्न नदिने स्पष्ट पारे । 

हाम्रो सहभागिता बिना संविधान संशोधन सम्भव होला भन्नेकुरा कसैले ठानेको भए त्यो गलत हुने अध्यक्ष नेपालको भनाई थियो । उनले संविधान संशोधन गर्ने सत्तारुढ कांग्रेस–एमालेको सहमती मध्यरातमा भएकाले त्यो आफैँ सन्देहस्पद रहेको पनि दोहोर्याए । 
 
उपेन्द्र यादवको घोषणा
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्ने घोषणा गरेका छन् । 

आइतबार काठमाडौंमा जनतासँग जसपा, नेपाल अभियन्ता अभिमुखीकरणको उद्घाटन गर्दै उनले जनतालाई सचेत र संगठित गर्न आफूहरले चार महिने अभियान चलाएको बताए । अध्यक्ष यादवले यो अभियानपछि संगठनलाई सुदृढ गर्ने र तेस्रो चरणमा जनताका मुद्दाहरुलाई लिएर र जनताका सवाललाई लिएर हामी सडक संघर्षमा उत्रिने बताए । 

उनले मुलुकलाई बचाउने हो भने अब मुख ताकेर नहुने जिकिर गरे । अध्यक्ष यादवले अब पनि अरुको मुख ताकेर देश र जनताको भविष्य छोड्न नसक्ने बताए । जसपा नेपालले सडक र जनताको बीचबाट हस्तक्षेपकारी भुमिका खेल्नका लागि तयार हुनुपर्ने अध्यक्ष यादवको भनाइ छ । 

रामेछाप पहिरो अपडेट 
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

अविरलको वर्षापछि गएराति गएको पहिरोले चारवटा घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन् । अझै ४ जना बेपत्ता छन् । एकजना बालिका अञ्जना श्रेष्ठको घाइते अवस्थामा उद्धार गरिएको छ ।

मृत्यु हुनेमा दोरम्बा शैलुङ–३  की ३२ वर्षीय चण्डिका श्रेष्ठ, उनका १८ महिनाका बालक आमुष रहेका छन् । यस्तै, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय बालक सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पहिरोमा परी ९० वर्षकी पुड्की पहरी, करिब ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र २० वर्षकी विनीता पहरी बेपत्ता छन् । पहिरोका कारण पुरै बस्ती जोखिममा रहेको बताइएको छ । 

भारतमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना
बारा जिल्लाबाट नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।

बाराबाट भारतको झारखण्ड राज्यमा अवस्थित बाबाधाम देवघरको लागि हिँडेको नेपाली तीर्थयात्रीहरु चढेको बस आईतवार बिहान बिहारको समस्तीपुरको एनएच (नेशनल हाइवे) २८ मा दुर्घटना हुँदा ३६ जना बढी घाइते भएको भारतीय प्रहरिले जनाएको छ । 

तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएपछि बस सडकमै पल्टिएको थियो । बसमा ४३ जना सवार रहेकामा अधिकांश घाइते भएको  प्रहरिले जनाएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनालगत्तै मुसरीघरारी थानाबाट पुगेको प्रहरीले घाइतेहरूलाई अस्पताल पु¥याएका थिए । 

भारतीय प्रहरिका अनुसार घाइतेहरूमध्ये २० जनालाई सदर अस्पतालमा भर्ना गरिएको छ । उनीहरू सबैको परिचय खुलिसकेको छ । तीर्थयात्रीहरू सबै बारा जिल्लाका रहेका छ्न् । सडकमा पल्टिएको बसलाई क्रेन लगाएर सिधा बनाइएको थियो । बस र ट्रक दुवैका चालकहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको त्यहाँको प्रहरीले जनाएको छ ।।

इजरायलमाथि ड्रोन आक्रमण
हिजबुल्लाहले आइतबार इजरायलविरुद्ध ठूलो मात्रामा ड्रोन आक्रमण गरेको छ । 

हिजबुल्लाहले बेरुतमा आफ्ना एक वरिष्ठ कमाण्डरको हत्याको बदलास्वरूप आक्रमण भएको बताएको छ । आक्रमणले उत्तरी इजरायलमा हवाई आक्रमणको साइरन बजाएको थियो । 

यसअघि आइतबार इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता ड्यानियल हगारीले इजरायलले लेबनानमा हवाई आक्रमणको एक श्रृंखला शुरु गरेको बताउनुभएको थियो । 

इजरायली हवाई हमलाले लेबनानी हिजबुल्लाह समूहको कब्जामा रहेको स्थानलाई लक्षित गरी पूर्व–एम्प्टिभ कदम चालेको थियो । 

यु–२० च्याम्पियनसिपः जियारथको उत्कृष्ट प्रदर्शनसँगै नेपाल फाइनलमा
नेपालले पेनाल्टी सुटआउटमा भुटानमाथि ४–१ को जित निकाल्दै आइतबार साफ यु–२० च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ ।

गोलकिपर जियारथ शेख नायक बनेपछि नेपालले सेमिफाइनलमा भुटानमाथि पेनाल्टी सुटआउटमार्पmत जित रच्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि निर्णयका लागि सीधै पेनाल्टी सुटआउटतर्फ धकेलियो । उक्त पेनाल्टी सुटआउटमा नेपालका गोलकिपर जियारथ नायक बने । यस क्रममा उनले दुई प्रहार रोक्दै आफैंले पनि गोल गरे । पेनाल्टी सुटआउटमा नेपालका राम थापा, अविनाश स्याङतान, सीमान्त थापा र जियारथले गोल गरे । भुटानको तर्पmबाट पहिलो प्रहारमा जित्सुइन दोर्जीले गोल गरे ।

त्यसपछि जियारथ नायक बने र जिग्मे नामगेलको प्रहार रोक्दै भुटानमाथि दबाब बनाए । उगेन दोर्जीको प्रहार पनि जियारथले रोके र नेपाल फाइनलनजिक पुग्यो ।  यसपछि जियारथ नै पेनाल्टी प्रहार गर्न आए । यसमा सफलताले नेपाल एक प्रहारअगाडि नै फाइनल पुग्थ्यो, जहाँ जियारथ सफल पनि भए । त्यसअघि निर्धारित समयको खेलमा पछि परे पनि नेपालले पुनरागमन गरेको हो । खेलको पहिलो हाफमा बराबरीमै सकियो । दोस्रो हाफमा भुटानले गोल गर्दै घरेलु टोली ठूलो झड्का दियो । तर, नेपाल पुनरागमनसँगै जित पनि निकाल्न सफल भयो । 

खेलमा शुरुवाती चुनौती भुटानबाट भयो । डिफेन्डर अश्विन घोरासैनीले चौथो मिनेटमा क्लियर गर्ने क्रममा बल फुस्काएपछि घरेलु टोलीले चुनौती सामना गर्नुप¥यो । तर खेलका सहायक रेफ्रीले अफसाइड झण्डा उठाए र घरेलु टोलीलाई राहत मिल्यो । नेपालले पहिलो अवसर छैटौं मिनेटमा बनायो । अविनाश स्याङ्तानले लामो दूरीबाट गरेको सशक्त प्रहार दोस्रो बार हुँदै बाहिरियो । दशौं मिनेटमा नेपालले अर्को आक्रमण बुने पनि सफल भएन । अनिल भोमजनले २७ औं मिनेटमा लामो दूरीबाट गरेको महत्वाकांक्षी प्रहार भुटानका गोलकिपर लोचो निमाले सहजै रोके । 

समीर तामाङले ३५ औं मिनेटमा गोल गर्ने सुन्दर अवसर खेर फाले । तीन डिफेन्डरलाई बिट गर्दै पेनाल्टीबक्सबाट उनले फितलो प्रहार गरे । ३८ औं मिनेटमा नेपाली डिफेन्डर सजक नहुँदा घरेलु टोली गोल व्यहोर्नबाट बच्यो । त्यसको केही समयमा नै नेपालको आक्रमणले सफलता पाएन । करिब २५ यार्ड टाढाबाट अविनाशले गरेको प्रहार माथिल्लो बारभन्दा केही माथिबाट बाहिरियो र फेरि एकपल्ट नेपालले अग्रता लिन असफल भयो । पहिलो हाफको थप समयमा भुटानको प्रहार नेपाली गोलकिपर जियारथ रोक्दै घरेलु टोलीको संकट टारे । 

दोस्रो हाफमा नेपालले केही सुधारिएको प्रदर्शन ग¥यो । तर उल्टै गोल खान पुग्यो । भुटानले ५४औं उत्कृष्ट अवसर बुन्दै नेपाललाई चुनौती दियो । किन्जाङ तेन्जिनको आक्रामण जियारथले मुस्किकले बचाए । तर, ५६औं मिनेटमा नै भुटान सफल भयो । घरेलु टोलीको खराब डिफेन्सको फाइदा लिँदै जित्सुइन दोर्जी करिब २२ यार्ड टाढाबाट गोल गरे । त्यो गोलसँगै नेपाल दबाबमा प¥यो । तर, नेपालले आक्रमणमा सुधार गर्दै लगातार अवसर बुन्यो । नेपालले ७०औं मिनेटमा फ्रिकिकबाट खेलमा फर्कने अवसर पायो । 

करिब २० यार्ड टाढाबाट अविनाशले गरेको सशक्त प्रहार भुटानका गोलकिपर निमाले पन्च गर्दै बचाए । चार मिनेटपछि भने उनको फ्रिकिकले पोस्टको दिशा लिन सकेन । ७७औं मिनेटमा भुटान १० खेलाडीमा सीमित भयो । भुटानका किन्जाङ तेन्जिनले नेपालका सविन घिमिरेलाई लडाएपछि उनी दोहोरो पहेंलो कार्ड सामना गर्दै बाहिरिए । त्यसको फाइदा लिँदै एक मिनेटपछि नै नेपाल खेलमा फर्कियो । राम थापाले दिएको पासमा नीराजनले हेडरमार्पmत गोल गर्दै नेपालको आशा जगाए । नीराजनले ८० औं मिनेटमा पनि अवसर बनाए ।

तर उनको लामो प्रहार माथिल्लो बारभन्दा केही माथिबाट बाहिरियो । ९० औं मिनेटमा नेपालको अग्रता लिने लक्ष्य पूरा भएन । समीर तामाङले खेलमा अग्रता लिने अवसर गुमाए । नजिकै दूरीबाट उनको हेडर गोलमा परिणत हुन सकेन । त्यससँगै निर्धारित समयको खेल १–१ को बराबरीमै सकियो र खेलको निर्णयको लागि पेनाल्टी सुटआउटतर्फ धकेलियो । जहाँ सफलता प्राप्त गर्दै नेपाल फाइनलमा पुग्यो । अब नेपालले दोस्रो सेमिफाइनलमा भारत र बंगलादेशबीचको विजेतासँग फाइनलमा खेल्नेछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्