नेपालमा दुई पार्टी सिस्टम आउने सम्भावना छैन : झलनाथ खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा दुई पार्टी सिस्टम आउने सम्भावना नरहेको बताएका छन् ।
कांग्रेस-एमाले नेतृत्वको सत्तारुढ गठबन्धनलाई दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै उनीहरुले नेपालमा दुई पार्टी सिस्टम ल्याउने धृष्टता गरेपनि त्यो सम्भव नहुने जिकिर गरेका हुन् । पार्टी केन्द्रिय सदस्यहरुको शपथग्रहण कार्यक्रममा सम्मानित नेता खनालले दुई ठूलो पार्टीको नेपालमा दुई पार्टी सिस्टम ल्याउने कुरा कल्पनामा मात्रै सिमित हुने दाबी समेत गरे ।
नेता खनालले कांग्रेस र एमाले घमण्डी र भ्रष्ट पार्टी रहेकाले उनीहरुले संविधान संशोधनका लागि चलाएको हल्ला पनि काम नलाग्ने बताए । दुई ठूलो पार्टीले आफूहरुको सहयोग बिना संविधान संशोधनको नाममा कमा र फुलिष्टप पनि चेन्ज गर्न नसक्ने सम्मानित नेता खनालले बताएका छन् । उनले संविधान संशोधनको नाममा समानुपातिक समावेशी प्रणाली हटाउने धृष्टता सत्तारुढ दलहरुले गरेर नेपाली जनताले त्यसको प्रतिरोध गर्ने चेतावनी समेत दिए ।
