केन्द्रीय समितिलाई परराष्ट्रमन्त्रीको जानकारी : भारत भ्रमण सफल भयो
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाली कांग्रेसको केन्द्रीय समितिलाई हालैको आफ्नो भारत भ्रमण सफल भएको जानकारी गराएकी छन् ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. राणाले आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा आफूले यही भदौ २ देखि ६ गतेसम्म गरेको भारत भ्रमण सफल भएको जानकारी दिएकी हुन् ।
नेपाल र भातरबीचको आपसी सद्भाव अभिबृद्धि गर्न यस भ्रमणले उल्लेखनीय भूमिका निर्वाह गरेको उनले बताएकी छन् । परराष्ट्रमन्त्री डा. राणा भारतको चार दिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्कीएकी हुन् । यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई मजबुत तुल्याउन योगदान पुगेको विश्वास आफूले लिएको पनि बताइन् ।
उनले नेपालमा ठूला पार्टी मिलेर बनेको स्थायी प्रकृतिको सरकारलाई भारतले राम्रो ‘रेस्पोन्स’ गरेको आफूले पाएको अनुभव सो बैठकमा सुनाएकी छन् । मन्त्री डा. राणाले आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेटवार्ता गरेको र ती वार्तामा नेपालको हित र चासोका सबै विषयहरु राखेको बताउँदै यसबाट आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरुका माध्यमबाट सहयोग र सहकार्य थप प्रबद्र्धन गर्न मार्गदर्शन गरेको उनको भनाई छ ।
