sevenstartv.com २० वैशाख २०८३, आइतवार

कांग्रेस केन्द्रीय कार्यसमितिमा महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनमा सबैको चासो

७ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौँ । गत साउन २८ गतेबाट स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ । बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको प्रस्तावले नेपाली कांग्रेसको आन्तरिक राजनीति तरङ्गित बन्दै आएको छ । गगनको चुनावी गठबन्धन गर्न नहुने  र शर्माको प्रधानमन्त्री, मन्त्री तथा सांसद कति पटक हुने भन्ने सीमा तय गर्नुपर्ने बारेको प्रस्तावलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले ‘काउन्टर’ गर्न थालेपछि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ११ दिन रोकिएको थियो ।

बैठक सार्न पर्नुको पछाडि महामन्त्रीको प्रस्ताव तुहाउने पार्टी सभापति शेरबहादुर देउवा खेमाको रणनीति भएको बताइन्छ । साउन २५ को बैठकमा परराष्ट्रमन्त्रीसमेत रहकी केन्द्रीय सदस्य आरजु राणा नै शर्माको प्रस्तावको विपक्षमा उभिएकी थिइन् । पार्टीका तर्फबाट प्रधानमन्त्री बन्ने कुरा एक वा दुई पटकमात्र भनेर तोक्न नहुने भन्दै उनले अनुभवलाई आधार बनाउनु पर्ने तर्क अघि सारेकी थिइन् ।

यही पृष्ठभूमिमा अहिले महामन्त्री शर्माको एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद बन्न नपाउने भन्ने प्रावधान पार्टी विधानमै संहिताकृत गर्नुपर्ने प्रस्ताव बैठकले पारित गर्ला नगर्ला भन्ने चासो कांग्रेसजनमा देखिन्छ ।

अर्का महामन्त्री थापाको आगामी चुनावमा जनताले रूखमा भोट हाल्न पाउने अवस्था निर्माण गर्ने प्रस्तावमा पनि संस्थापन पक्षले ‘काउन्टर’ गरिरहेको छ । देउवा समूहका नेताहरू विमलेन्द्र निधि‚ प्रवक्ता प्रकाश शरण महत‚ एनपी साउद‚ रमेश लेखक‚ ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरू नै दुवै महामन्त्रीको प्रस्तावको विपक्षमा उत्रिएका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्