sevenstartv.com २० वैशाख २०८३, आइतवार

आजका प्रमुख सात समाचार

५ भदौ २०८१, बुधवार स्टार संवाददाता


काठमाडौं ।

प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजनको हल्ला स्थायी कमिटी बैठकबाट निराधार भएको पुष्टि भइसकेको बताएका छन् । 

बागमती प्रदेशस्तरी परामर्श समिति बैठकमा उनले पार्टी विभाजनबारे चलाइएको हल्लामा कुनै सत्यता नभएको उल्लेख गर्दै अब पार्टी एकताबद्ध भएर अघि बढेको दाबी गरेका हुन् ।

कांग्रेस-एमाले मिलेर आफू नेतृत्वको सरकार ढाल्नुको कारण जनताले राम्रोसँग बुझेको भन्दै प्रचण्डले जनतामा गएर पार्टी निर्माणको अवसर प्राप्त भएको बताए । उनले माओवादी अब जनता र पार्टीमा केन्द्रित हुने भएकाले सरकारबारे तत्काल नसोच्ने बताएका छन् । आइतबारबाट सुरु भएको भेलामा अध्यक्ष प्रचण्डले पछिल्ला समसायिक विषयमा केन्द्रित रहेर ब्रिफिङ गरेको बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्री पौडेलले बताएका छन् । 

सभामुखको ध्यानाकर्षण

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउनका लागि प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । 

सभामुख घिमिरेले बुधवार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् । भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसद्हरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको छ । 

सभामुखले सोही कार्यक्रमलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउनका लागि प्रमुख सचेतकहरुलाई ध्यानाकर्षण गराए  । त्यसैगरी समितिका बैठकहरु प्रभावकारी ढंगले अगाडी बढ्न नसकेको भन्दै उनले प्रतिनिधिसभा बैठक नबसेको दिन अनिवार्य रुपमा समिति बैठक बसेर विधेयकहरुमाथि छलफल गर्न ध्यानाकर्षण गराएका छन् । 

रास्वपा, रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने भएको छ । 

बुधबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो । निर्वाचनका लागि कुन ढंगले अगाडी बढ्ने भनेर पार्टीभित्र छलफल प्रारम्भ भएको सभापति रवि लामिछानेले बताए  । पार्टी निर्वाचनमा कसरी जाने भन्ने सन्दर्भमा थप छलफल गरेर निस्कर्षमा पुगिने उनको भनाई छ ।

गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकलाई चाँडो भन्दा चाँडो संसदबाट पारित गर्नुपर्ने बताएका छन् । 

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री लेखकले सो ऐनलाई छिटोभन्दा छिटो समिति र प्रतिनिधिसभाबाट पारित गर्नुपर्नेमा जोड दिएका हुन् । उनले भ्रष्टाचारसँग सम्बन्धित विषय गम्भीर र संवेदनशील भएको उल्लेख गर्दै यस ऐनको महत्व धेरै रहेको बताए । 

उनले समितिले पहिचान भएका महत्वपूर्ण विषयमा केन्द्रित भएर दफावार छलफल गर्नुपर्ने धारणा राखे  । गृहमन्त्री लेखकले अख्तियारको क्षेत्राधिकार, उजुरीकर्ताको पहिचान, स्वार्थ बाझिएको विषय, अनुचित कार्य लगायतको विषय मुख्यगरी पहिचान भएको बताएका छन् । अनुसन्धानका लागि छुट्टै सेवा गठन गर्नुपर्ने र नीतिगत निर्णय तथा भ्रष्टाचारको विषय पनि मुल रुपमा पहिचान भएको भन्दै यि विषयहरुलाई केन्द्रमा राखेर दफावार छलफल अगाडी बढाउनुपर्ने बताए ।

स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा बुधवार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको हो । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई पनि व्यवस्थित गर्नुपर्ने भएकाले राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको बताए । 

उनले सिमित श्रोत, साधनका कारण आवश्यकताअनुसारको उपकरणहरु खरिद गर्नसक्ने अवस्था नरहेको भन्दै भएका उपकरणहरुलाई बढी भन्दा बढी कसरी प्रयोगमा ल्याउन सकिन्छ रु भन्ने हेतुले आवष्कार केन्द्रसँग सम्झौता गरेको बताए । उनले थन्किएको उपकरणहरुको व्यवस्थापन गर्नसके अस्पताल पनि सफा हुने र अस्पताललाई आवश्यक उपकरणहरु पनि प्राप्त हुने बताएका छन् । 

अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्ति हुने बताएका छन् । 

बुधवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ९इप्पान० ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले धितोपत्र बोर्ड अब लामो समय नेतृत्व बिहीनको अवस्थामा नरहने बताएका हुन् ।  उनले बोर्डमा लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकिएको भन्दै सरकारले बोर्डको नेतृत्व चाँडै ल्याउने उल्लेख गरे । 

उनले बोर्डमा उत्पन्न भएका समस्याको समधान विधिसंवत शिघ्र समाधान गर्ने पक्षमा सरकार रहेको जानकारी दिए । उनले सरकारले निर्माण गरेको मात्रै नभई अब निजी क्षेत्रका आयोजनाहरुमा पनि विदेशी लगानीका लागि अनकुल परिस्थिति निर्माण गर्ने आवश्यक रहेको भन्दै सरकारले वातावरण बनाउन सहजिकरण गर्ने उल्लेख गरेका छन् । 

साफ च्याम्पियनसीप

२० वर्षमुनिको साफ च्याम्पियनसीप अन्तरगत बुधबार भएको खेलमा भुटानले माल्दिभ्सलाई २१ ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा भुटानले जित निकाल्दै सेमिफाइनलको सम्भावन कायमै राखेको हो । १० खेलाडीमा सीमित भुटानका लागि दोर्जी र चोपेलले गोल गरे । 

जितसँगै तीन अंक जोडेको भुटान समूह ‘बी’ को दोस्रो स्थानमा उक्लिएको छ । भुटान यसअघि पहिलो खेलमा भारतसँग १–० ले पराजित भएको थियो । माल्दिभ्सको भने यो पहिलो खेल हो । समूह चरणको अन्तिम खेलमा अब माल्दिभ्सले भारतविरुद्ध खेल्नेछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्