sevenstartv.com २० वैशाख २०८३, आइतवार

आजका प्रमुख सात समाचार

४ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौैं ।

शेरबहादुर देउवा

सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरुलाई साथमा लिएर अघि बढ्ने बताएका छन् । 

लोकतन्त्रप्रति प्रतिवद्ध काँग्रेस र एमालेले संविधान संशोधनका लागि गरेको सहमती सबै दललाई साथमा लिएर अघि बढाउनका लागि भएको देउवाको भनाई थियो । मंगलवार नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक स्व।प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ठूलो दुई पार्टी बीचको संविधान संशोधन गर्ने सहमतीलाई अन्य दलहरुले आफ्नो खिलाफको रुपमा लिन नहुने पनि बताए । 

सभापति देउवाले संविधान संशोधनको क्रममा उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने विषयमा पनि अन्य दलको सहमती भए आफूहरुले सो विषयमा पनि संविधान संशोधन गरेर अघि बढन तयार रहेको बताउए । सभापति देउवाले सबै पक्षसँग छलफल गरेर मात्रै आफूहरु अघि बढने पनि बताए । 

माधव कुमार नेपाल

प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान संशोधन गर्ने काँग्रेस–एमालेको सहमतीमा शंका गर्ने ठाउँ रहेको बताएका छन् । 

अध्यक्ष नेपालले कहिल्यै संविधान संशोधनको विषयमा नबोलेका दुई ठूला दलले मध्यरातमा संविधान संशोधन गर्ने कुरामाथि शंका गर्नु स्वभाविक रहेको अध्यक्ष नेपालको जिकिर थियो । मंगलवार नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान संशोधन गर्ने कुरा आवश्यक रहेको भएपनि दुई ठूला नेताहरुले सही गर्दैमा त्यो सम्भव नरहेको दाबी समेत गरे। 

अध्यक्ष नेपालले संविधान संशोधनका लागि खुला बहस गर्नुपर्ने आवश्यकता पनि औंल्याए । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा बहुमत पाएर पनि राजनीतिक स्थायित्वको पक्षका काम गर्न नसकेको भन्दै त्यस्ता खालका गल्ति स्वीकार गरेर अघि बढ्नुपर्ने पनि अध्यक्ष नेपालले बताए । उनले संविधानमा कतिपय विषय छलफल गर्नुपर्ने भएपनि त्यसलाई अचानक अघि बढाउने कुरा मान्य नहुने बताए । 

शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभाका सदस्यहरुभित्रको असमानता हटाउन नेपाली काँग्रेस र नेकपा एमालेबीच निर्वाचन प्रणाली संशोधन गर्ने सहमति भएको बताएका छन् । 

मंगलवार काठमाडौंमा स्व। प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनाव जितेकाले क वर्ग र समानुपातिबाट चयन भएका सांसदले ख वर्गको ठान्ने परिपाटी अन्त्य गर्न निर्वाचन प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको बताए । उनलृ यसमा नेकपा (माओवादी केन्द्र), मधेसवादी दलहरुले असहमति प्रकट गर्न नसक्ने बताउनु भयो । उहाँले इतिहासका विभिन्न चक्र र कालखण्डमा विचलित हुँदा विचारको नेतृत्व गर्नेहरुले नै सही बाटो देखाएको स्मरण पनि गर्नुभयो । 

शक्ति बस्नेत

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले देश र जनताका लागि अझै धेरै कामहरु गर्न बाँकी रहेको बताएका छन् । 

स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नागरिकका सबै अपेक्षा पूरा गर्न तत्काल नसके पनि जिम्मेवारी बोध गर्न बिर्सन नहुने बताए । 

उनले राम्रा कामको श्रेय लिएझैँ असफल कामको जिम्मेवारी पनि नेतृत्व तहले लिन सक्नुपर्ने बताए । उनले राम्रा कुराको जिम्मेवारी लिने र अप्रिय कामको जिम्मेवारी संविधानलाई बोकाउने कुरा समस्याको समाधान नभएको बताए ।

लुम्बिनी मुख्यमन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् ।मंगलबार प्रदेशसभा बैठकबाट मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेका हुन् । 

प्रदेशसभा बैठकमा सहभागी सदस्यहरुमध्ये ७० जनाले पक्षमा मतदान गरेका हुन् । यस्तै, ११ जनाले विपक्षमा मतदान गरेको सभामुख तुलाराम घर्तीले जानकारी गराए । 

आचार्य गत साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

लुम्बिनीको प्रदेश सभामा ८७ जना सदस्य रहेका छन् । मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश बनाउने मुख्य कार्यभार सरकारको भएको बताएका छन् । 

पाकिस्तान बाढी

पाकिस्तानको बलुचिस्तानमा सोमबारदेखिको भारी बर्षाका कारण १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ ।

डन न्यूजका अनुसार मनसुनी वर्षाले मानविय तथा भौतिक क्षति पु¥याउँदा अन्य ११ जना  घाइते भएका छन्  भने तीन हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएका छन् । 

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अनुसार जुलाई–१ देखि अगस्ट–१७  सम्म वर्षाजन्य घटनामा १९५ जनाको मृत्यु हुनुका साथै ३६२ जना घाइते भएका छन् । 

यसैगरी, विपद्का कारण दुई हजार २९३ घरहरू क्षतिग्रस्त भएका छन् । पिडिएमएका अधिकारी युनस मेङ्गलले हालैको वर्षाले बलुचिस्तान प्रान्तका १६ जिल्लाहरू प्रभावित भएको तथा राहत कार्य जारी रहेको बताएका छन् । 

बलुचिस्तानले जुलाई–१ देखि हालसम्म दुई गम्भीर मनसुन घटनाहरूको सामना गरेको डन न्यूजले जनाएको छ । 

नेपाल सेमिफाइनलमा

बंगलादेशले मंगलवार श्रीलंकामाथि सहज जित निकाल्दै साफ यु–२० च्याम्पियनसिपमा सुखद् शुरूवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह एको खेलमा बंगलादेशले श्रीलंकामाथि २–० को जित निकालेको हो । श्रीलंकाको हारसँगै यो समूहबाट बंगलादेश र नेपाल सेमिफाइनलमा पुगेका छन् । 

तीन राष्ट्र सम्मिलित समूहमा श्रीलंकाले लगातार दोस्रो हार व्यहोरेपछि सेमिफाइनलमा पुग्ने टोली तय भएको हो । 

श्रीलंकाले पहिलो खेलमा घरेलु टोली नेपालसँग १–० को हार व्यहोरेको थियो । मंगलवार बंगलादेशले श्रीलंकालाई पहिलो हाफ पूर्ण दबाबमा राखेर खेल्यो । 

खेलको शुरुवातदेखि नै बंगलादेश लगातार अवसर बुने पनि सफल हुन सकेन । तर, १८ औं मिनेटमा बंगलादेशले श्रीलंकाको खराब डिफेन्सको फाइदा लिँदै अग्रता लियो । 

रवि हुसेन राउलले लेफ्ट साइडमा दिएको बललाई पेनाल्टी बक्समा एक्लै रहेका मिराजुल इस्लामले वान टच गोल गरे । 

पहिलो हाफको इन्जुरी समयमा बंगलादेशका स्ट्राइकर मिराजुल इस्लाम श्रीलंकाका गोलकिपर फुलैलसँग वान भर्सेस वानको अवस्थामा गोल गर्न असफल भए । श्रीलंकाले पहिलो हाफमा खासै राम्रो अवसर बुन्न सकेन । 

यससँगै पहिलो हाफमा बंगलादेश १–० ले अगाडि रह्यो । दोस्रो हाफमा पहिलो अवसर सिर्जना हुन ५९ औं मिनेट पर्खनुप¥यो ।

 स्यान मोहम्मद साहिलले राइट कर्नरबाट गरेको सशक्त प्रहार बंगलादेशका गोलकिपरले पन्च गर्दै आफ्नो टोलीको अग्रता जोगाइराखे । ८५ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर बनायो । 

पियास अहमेद नोभाले श्रीलंकाको खराब डिफेन्सको फाइदा लिँदै पेनाल्टी बक्सबाटै उत्कृष्ट गोल गरे । 

त्यसपछि पनि बंगलादेशले केही अवसर बनाए पनि सफल हुन नसके पनि श्रीलंकामाथि २–० को जित निकाल्यो । अब नेपाल र बंगलादेशबीच समूह विजेताका लागि बिहीवार खेल हुनेछ भने बुधवार भूटान र माल्दिभ्सबीच खेल हुनेछ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्