sevenstartv.com २० वैशाख २०८३, आइतवार

आजका प्रमुख सात समाचार

३ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । 

बाढी पहिरो

बझाङ र जाजरकोटमा गएको पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ । 

गएराति बझाङको बुङ्गल नगरपालिका वडा नम्बर १० मा गएको पहिरोमा परी एकै परिवारका चार जनाको र जाजरकोटको नलगाड नगरपालिका २ मा गएको पहिरोमा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । 

बझाङको टुमेडाका बीरबहादुर धामीको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती ५५ वर्षीया काली धामी, बुहारी २५ वर्षीया गोल्की धामी तथा नातिनीहरु ६ वर्षकी आकृती र तीन वर्षकी लक्ष्मीको मृत्यु भएको हो । 

पहिरो घरमा खस्दा परिवारका नौ जना र एक जना पाहुना समेत १० जना रहेकामा ६ जनाले भागेर ज्यान बचाएका छन । 

जाजरकोटको नलगाड नगरपालिका २ मा गएराति पहिरोले घर पुरिँदा ४२ वर्षीय लालबहादुर परियार, उहाँकी श्रीमती ३४ वर्षीया मनिषा परियार र छोरा २ वर्षीय शिभम परियारको मृत्यु भएको हो ।

भूकम्पबाट घर भत्किएपछि बनाएको अस्थायी टहरामा सानो ढिस्को भत्किएर पुरिएको थियो । यसैबीच, बाढी, पहिरो लगायतका विपद्का घटनामा परी जेठ २८ गतेयता हालसम्म १ सय ९० जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी हालसम्म ४९ जना वेपत्ता छन् ।

सुदूर सरकार

सुदूरपश्चिम प्रदेश सरकारले बझाङमा पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई राहत दिने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले एक वक्तव्य जारी गर्दै प्रदेश सरकारले प्रतिव्यक्ति एक लाखको दरले राहत दिने बताए । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । 

गएराति अविरल वर्षाका कारण घरमा पहिरो खस्दा बुङ्गल नगरपालिका–१० स्थित एकै परिवारको चार जनाको ज्यान गएको थियो । घटनामा परी छ जना घाइते भएका छन् । पहिरोमा परेको परिवारको तत्काल उद्धार र राहतका लागि पनि मुख्यमन्त्रीले निर्देशन दिए । 

गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले देशमा राजनीतिक स्थिरता दिँदै अर्थतन्त्रलाई चलायमान गर्नका लागि नेपाली काँग्रेस– नेकपा एमाले गठबन्धनको सरकार बनेको बताएका छन् । 

सोमवार विशिष्ट प्रतिभा सम्मान तथा वृहत साङ्गीतिक काव्य गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगत डेढ वर्षको अवधिमा सत्ता समिकरण फेरिरहँदा पुँजीगत खर्च घटेको तथा आर्थिक गतिविधिमा शिथिलता आएको बताए । 

उनले विगतको सरकारले सुशासन दिन नसकेको र विधिको शासन पनि चलाउन नसकेको भन्दै निराशातिर गइरहेको मुलुकलाई आशामा बदल्नका लागि दुई ठूला पार्टीको गठबन्धनमा सरकार बनेको बताए । 

उनले यो सरकार विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडी बढाउन तथा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नका लागि गठन भएको स्पष्ट पारे । त्यसैगरी देशमा देशी, विदेशी लगानीको वातावरण बनाएर बढी रोजगारी सिर्जना गर्ने पनि सरकारको उद्देश्य रहेको बताए । गृहमन्त्री लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ पार्नेगरी संविधान संशोधन गर्ने कुरापनि सरकारको एजेण्डा रहेको बताए । 

आरजु भेटवार्ता

भारतको औपचारिक भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबारसमकक्षी एस. जयशंकरसँग भेटवार्ता गरेकी छन् । 

भेटपछि राणाले जयंशकरसँग दुई देशबीचका बहुआयामिक सम्बन्ध, नेपाल-भारत सम्बन्धका विविध पाटा, एकअर्काबीचको सहकार्य र तिनका सम्भावनाबारे कुरा भएको जानकारी दिएकी छन् ।

राणाले शताब्दीऔँ पुरानो नेपाल-भारत सम्बन्धलाई अझे बलियो बनाउन यो भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने पनि अपेक्षा पनि राखेकी छन् । 

रवि बयान

सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि बोलाउने भएको छ ।

स्रोतका अनुसार यहि भदौ ७ गते रविलाई समितिले बयानका लागि बोलाउने तयारी गरेको हो । अहिले प्रमाणहरु जुटाउने काम भइरहेको र ७ गतेसम्म बयानका लागि बोलाइने समितिका एक सदस्यले बताए । 

पूर्वगृहमन्त्री समेत रहेका सभापति रविसँग बयान लिनुअघि आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर समितिले बयान लिएको छ । 

समितिले गोरखा मिडिया अन्तर्गत सञ्चालित ग्यालेक्सी टेलिभिजन सुरुवाती लगानीकर्ता छविलाल जोशी र रवि लामिछानेलाई एकै दिन बोलाउने तयारी गरेको हो ।

भारतले विजुली किन्ने

भारतले नेपालका १२ जलविद्युत आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ ।

भारतको केन्द्रिय विद्युत प्राधिकरणले अन्तरदेशीय व्यापार उद्देश्यले नेपालका थप १२ जलविद्युत आयोजनाबाट २ सय ५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति दिएको हो । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतले नेपालबाट पहिलो पटक बिहारमा मध्यकालीन र हरियाणामा ५ वर्षका लागि विद्युत विक्री सम्झौतामार्फत विद्युत निर्यात स्वीकृित दिएको बताए ।

उनले विगतमा भारतले ६ सय ९० मेगावाट (१६ वटा आयोजना) बाट निर्यात गर्दै आएकोमा सोमवारबाट थप २५१ गरी कुल ९ सय ४१ मेगावाट विद्युत खरिद गर्ने भएको बताए । 

उनले नेपाल खुद विद्युत निर्यातकर्ता भएकाले गत आर्थिक वर्षमा आयात भन्दा निर्यात बढी गरेको बताए । उनले विद्युत प्राधिकरणले तीन दिनभित्रै सबै प्रक्रियाहरु मिलाएर आयोजनाहरुबाट विद्युत निर्यात शुरु गर्ने जानकारी दिए । उनले स्वीकृत भएको ९ सय ४१ मेगावाटमा थप १० प्रतिशत विद्युत थप गरेर पठाउँदा १ हजार मेगावाट माथि विद्युत भारत निर्यात गर्नसक्ने अवस्थामा प्राधिकरण पुगेको बताए । 

महिला भलिबल

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टिमसँग अन्तरक्रिया गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले भलिवल खेलको उपलब्धि र पूर्वाधार विकासका सन्र्दभमा छलफल गरेका थिए । 

प्रधानमन्त्री ओलीसँगको छलफलमा टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए । 

प्रधानमन्त्री ओलीले दुई साताअघि सम्पन्न ‘काभा वुमन्स नेशन्स भलिबल प्रतियोगिता’ हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको बताए । 

खेलाडीका प्रगति, चाहना र मागबारे आफू जानकार रहेको भन्दै प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई सरकारले जनही तीन लाख दिने निर्णय गरेको जानकारी गराए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्